बागलुङ- बागलुङको तमानखोला गाउँपालिकामा वडा अध्यक्षकै नेतृत्वमा तालाबन्दी गरिएकाे छ । गाउँपालिकाको दोस्रो गाउँ सभाको चौथो अधिवेसनबाट नेपाली कांग्रेस बागलुङले निर्माण गर्न लागेको विपि स्मृति भवन निर्माणका निम्ती बजेट विनियोजन गरेको भन्दै नेकपा माओबादी केन्द्रबाट निर्वाचित वडा अध्यक्षकै नेतृत्वमा तालाबन्दी गरिएको हो । बिहिबारको गाउँसभाले विपी स्मृति भवनको लागि एकल बहुमतबाट बजेट विनियोजन गरेको भन्दै नेकपा माओवादी केन्द्र तमानखोलाका सचिव तथा वडा न ४ का वडा अध्यक्ष छवि श्रीपालीको नेतृत्वमा गाउँपालिकाको कार्यालयमा ताला बन्दी गरिएको हो ।
भवन निर्माणका लागि गाउँपालिकाले १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको भन्दै तालाबन्दी गरिएको श्रीपालीले जानकारी दिए । वजेट विनियोजन प्रति माओवादी केन्द्रबाट निर्वाचित सदस्यले असहमति जनाएका थिए ।
‘जनताको लागि आएको बजेट कुनै पार्टी कार्यालय निमार्णको लागि विनियोजन गर्नु गलत हो,’ सचिव श्रीपालीले भने, ‘हाम्रो कुराको सुनुवाई नगरी एकल रुपमा अगाडी बढेपछि कार्यालयमा तालाबन्दी गरेका हौं ।’ श्रीपाली सँगै तमानखोला गाउँपालिका वडा नं १ का वडा अध्यक्ष थमबहादुर रोका, तमानखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष नारायण सुनार लगायत माओवादी केन्द्रका ११ जना गाउँसभा सदस्य रहेका छन ।