संगम घर्तीमगर बागलुङ- गोविन्द प्रसाद शर्मा कँडेल बागलुङको राजनीतिक, सामाजिक, शैक्षिक र सांस्कृतिक चेतनाको दियो थिए । पञ्चायती कालमा दलहरुमाथि प्रतिवन्ध लागेको बेला जनतालाई जागरुक बनाउँदै भित्र भित्रै पार्टी संगठन निर्माण गर्ने जनतामा प्रजातन्त्र चेतना भर्ने काम कँडेलले गरे । नेपाली काँग्रेस बागलुङलाई बागलुङे जनतासंग परिचित बनाउने काममा कँडेलको महत्वपूर्ण योगदान छ । वि.सं. २०१० सालबाटै राजनीतिक अभियानमा जोडिएका कँडेलले सादगी नेताको रुपमा परिचित थिए । प्रजातान्त्रिक आन्दोलनमा आफ्नो जीवन समर्पण गरेका उनी भुँइ काँग्रेसका लागि निकै प्रिय पात्र थिए ।
त्यसैले पनि उनलाई चिन्नेजतिले गोबिन्द बा ! भनेर सम्बोधन गर्थे । सबैसंग सहज घुलमिल हुने र पारिवारिक सम्बन्ध जस्तै व्यवहार गर्ने उनको बेग्लै खुबी थियो । भेटघाट र कुराकानीमा सबै ठिकै छ नि बा, घरपरिवारलाई सञ्चै छ बा ? भनेर सोध्ने उनको बानी थियो । उनले प्रयोग गर्ने त्यही शब्द कालान्तरमा उनलाई आदर गर्नेहरुले प्रयोग गर्ने गोविन्द बा ! बन्यो । गोविन्द प्रसाद शर्मा कँडेललाई बागलुङमा चिन्ने जान्नेहरुले गोविन्द बा ! भनेरै सम्बोधन गर्ने गरेका थिए ।
‘उहाँले प्रयोग गर्ने थेगो नै पछि उहाँलाई सम्मान गरेर सम्बोधन गर्न थालियो,’ काठेखोला गाउँपालिका—५ का नेपाली काँग्रेस सभापति हरि सापकोटा भन्छन्,‘गोबिन्द बा पाका र युवा पुस्ता सबैका लागि उत्तिकै प्रिय हुनुहन्थ्यो । त्यसले गर्दा पनि सबैले मायाले गोविन्द बा भनेर सम्बोधन गर्थे ।’ बागलुङको काठेखोला गाउँपालिका—६ साविकको बिहुँकोट गाविसमा १९९५ पौष १० गते जन्मिएका कँडेलको यही असार १५ गते आईतबार निधन भएको छ । उनको देहावसानसंगै बागलुङले राजनीतिक, सामाजिक, शैक्षिक र सांस्कृतिक धरोहर गुमाएको छ ।
पञ्चायती कालमा नेपाली काँग्रेस बागलुङको सभापतिको जिम्मेवारी सम्हालेका कँडेल २०४६ सालको जनआन्दोलनपछि २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । २०१० सालमै नेपाली काँग्रेसका संस्थापक वीपी कोईरालाबाट पार्टी सदस्यता प्राप्त गरेका कँडेलले २०३६ सालबाट २०४७ सालसम्म बागलुङ काँग्रेसको सभापतिको जिम्मेवारी सम्हालेका थिए । कँडेल ०४६ सालको आन्दोलनका क्रममा अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलसँगै जेलजीवन बिताएको नेपाली कांग्रेसका बागलुङका महाधिवेशन प्रतिनिधि जगदीशचन्द्र उपाध्याय बताउँछन् ।
‘२०४६ सालको जनआन्दोलनका बेला हामीसंगै जेल परेका थियौं,’उपाध्यायले भने,‘वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलसंगै गोविन्द बा हामी एउटै जेलमा थियौं । त्यतिबेला मैले गोविन्द बा लाई नजिकबाट चिन्ने मौका पाएँ । उहाँ साँच्चिकै सादगी व्यक्तित्व हुनुहुन्थ्यो ।’ त्याग र निष्ठाको पर्यायको गोविन्द बा रहेको उनको भनाई छ । ‘बागलुङको राजनीतिको लागि त गोविन्द बा ! युग पुरुष नै हुनुहुन्थ्यो । निस्कलंक व्यक्तित्व र शालिनपनले गर्दा उहाँलाई सबैसंग सहजै घुलमिल बनाउँथ्यो,’ उनले भने ।
नेपाली काँग्रेस बागलुङका पूर्व पार्टी सभापति हरिप्रसाद श्रेष्ठले गोविन्द शर्मा कँडेल साँच्चिकै समाजवादी जीवन बाँचेको व्यक्तित्व भएको बताउँछन् । ‘उहाँको व्यक्तित्व निकै सादगी र समाजवादी थियो, साँच्चै वीपी कोईरालाले कल्पना गर्नुभएको समाजवादी जीवन उहाँले बिताउनुभयो । सामान्य कार्यकर्तासंग सहज ढङ्गबाट प्रस्तुत हुने उहाँको खुबीले सबैको प्रिय बनायो,’श्रेष्ठले भने । वि.सं. २०१६ सालमा नेपाली कांग्रेसको साप्ताहिक पत्रिका निकाल्दै गर्दा पक्राउ परेका कँडेल वि.सं. २०१९ सालमा निरंकुश पार्टीविहीन व्यवस्थाविरुद्ध आन्दोलनका क्रममा पाल्पामा समेत जेल परेका थिए ।
पटक पटक गरेर उनले झण्डै ७ वर्ष जेल जीवन बिताएका थिए । गोविन्द बा ! संग संगत गरेका नेपाली काँग्रेस बागलुङका पूर्व पार्टी सभापति मणिभद्र शर्मा कँडेल राजनीतिमा धैर्यता र शाहस राखेर अगाडि बढ्ने कुरा महत्वपूर्ण रहेको बताउँछन् । ‘राजनीतिक दल प्रतिवन्ध भएको बेला हामी संगसंगै धेरै ठाउँमा राजनीतिक संगठन गर्न पुग्यौं,’उनी भन्छन्,‘राजनीति भनेको धैर्यता हो भन्ने कुरा गोविन्द शर्मा कँडेलबाट सिक्नुपर्छ ।’ इमान्दार र कर्तव्यनिष्ट व्यक्तित्वको रुपमा पूर्व सांसद गोविन्द शर्मा कँडेलको पहिचान स्थापित भएको उनी बताउँछन् ।
नेपाली काँग्रेस बागलुङका सभापति जीतबहादुर शेचरनले गोविन्द बा ! सैद्धान्ति रुपमा लोकतन्त्रप्रति प्रतिवद्ध र राजनीतिक रुपमा निष्ठा र आदर्शको पात्र रहेको बताउँछन् । ‘पार्टीमा पदीय भूमिका नहुँदो धेरै व्यक्तिहरु निस्क्रीय भएर बसिदिन्छन् तर गोविन्द बा पदको भूमिका नहुँदा पनि उत्तिकै सक्रिय हुनुभयो,’ उनले भने,‘बागलुङमा हामीले पार्टी कार्यालय निर्माण थालेपछि उहाँ बागलुङ आउँदा सबैभन्दा पहिले त्यो ठाउँमा पुग्नुहुन्थ्यो । काँग्रेसको आफ्नै पार्टी कार्यालयबाट पार्टी सञ्चालन भएको हेर्ने उहाँको ठूलो धोको थियो ।’
निष्ठापूर्वक निरन्तर साधना गोविन्द बा ! को अद्वितीय पक्ष रहेको गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी बताउँछन् । ‘विचार र आदर्शमा स्पष्ट, विचार अनुसारको व्यवहार र जीवनयापनमा सादगीपन तथा सरल व्यवहार निष्ठापूर्वक निरन्तर साधना गर्ने उहाँको अद्वितीय गुण उहाँबाट युव पुस्ताले सिक्नुपर्छ,’ सुवेदी भन्छन् । गोविन्द शर्मा कँडेल युवाहरु माझमा पनि लोकप्रिय थिए । यसको कारण उनले परिवर्तन बुझ्ने र त्यसको समयक्रम अनुसार व्याख्या गर्ने क्षमता राख्थे ।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मनबहादुर थापा मनिष भन्छन्,‘वीपी कोईरालासंग संगत गरेको र उहाँको आदर्शलाई बोकेर हिँडेको आदर्श निष्ठा र सरलतासंगै मितव्ययीता हामीले उहाँसंग सिक्नुपर्ने पक्ष हुन् । हिजो र आजको राजनीति बुझ्ने, परिवर्तनलाई बुझ्ने र त्यसको विश्लेषण गर्नसक्ने उहाँको खुबीले सहजै नयाँ पुस्तासंग भिज्नसक्नुहुन्थ्यो ।’ गोविन्द शर्मा कँडेल राजनीतिक मात्रै नभई सामाजिक सांस्कृतिक परिवर्तनको पनि धरोहर रहेको नेपाली काँग्रेस बागलुङकी सहसचिव ज्ञानु श्रीस शर्मा बताउँछिन् ।
‘म त जनजातिको छोरी विवाह गरेर ब्राह्मण परिवारमा आएँ, मलाई घरमा सहज होस् भनेर गोविन्द बा ! ले धेरै कुरामा सहजीकरण गरिदिनुभयो । सांस्कृतिक परिवर्तनको मामलामा पनि उहाँको ठूलो योगदान छ,’ उनले भनिन् । गोविन्द बा ! भुइँ मान्छेहरुका अति प्रिय थिए । दैनिक जसो गाउँ टोल र घर घरमा पुगेर सञ्चो बिसञ्चो सोध्ने, हालखबर बुझ्ने काम गर्थे । सामाजिक र राजनीतिक क्षेत्रसंगै शिक्षा क्षेत्रमा पनि गोविन्द शर्मा कँडेलको योगदान उच्च छ । बिहुँमा अमर क्याम्पस, भीमसेन क्याम्पस, अमर मावि लगायतका विभिन्न शैक्षिक संस्थाहरुको सञ्चालन विकासमा गोविन्द कँडेलको ठूलो भूमिका रहेको छ ।
बागलुङको राजनीतिमा उनको अग्लो उचाई थियो तर उनले भुँई कहिल्यै छाडेनन् । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर संसद भवन पुगे पनि उनले आफ्नो धरातल कहिल्यै बिर्सेनन् । उनी जति उचाईमा पुगे पनि आफ्नै धरातल र भुँइमै टेकेर अग्लिए । उनको निधनबाट बागलुङले मात्र होईन देशले पनि आदर्श र निष्ठाको प्रतिमूर्ति गुमाएको छ ।