नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई ज्यान मुद्दामा उन्मुक्ति दिने न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जन न्याय परिषद्मा तानिएका छन् ।
बिहीबार बसेको न्याय परिषद्को बैठकले उनीहरूलाई जिम्मेवारीबाट अलग गर्दै परिषद्मा तानेको हो ।
बम विस्फोट गरी व्यक्ति हत्याको आरोप खेपेका आलमलाई जिल्ला अदालत रौतहटका न्यायाधीशद्वय थारु र महर्जनको इजलासले गत जेठ १४ गते सफाइ दिएको थियो ।
उक्त आदेशपछि चौतर्फी दबाब बढेसँगै उनीहरूलाई न्याय परिषद् तानिएको हो ।
संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए । घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो ।
आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो ।
आलमले नै बनाउन लगाएको बम बिस्फोटमा परेर घाइते भएकाहरूलाई घटना सार्वजनिक हुने भन्दै जिउँदै इँटाभट्टामा जलाएर हत्या गरिएको अनुसन्धानबाट देखिएको छ । त्यतिबेला प्रहरीले घटनास्थलमा कुनै किसिमको बिस्फोट नभएको भनेर मुचुल्का बनाएको थियो । प्रहरी, जिल्ला सरकारी वकिल कार्यालय र पुनरावेदन सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने राय दिएका थिए ।