विकास निर्माणका काम प्राथमिकताका आधारमा गरौं – डिल्लीराम सुवेदी

  • साउन २९, २०८०

बागलुङ- गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले हरेक क्षेत्रमा विकास निर्माणका काम प्राथमिकताका आधारमा हुने बताएका छन । नेपाली काँग्रेस बरेङ गाउँपालिका समितिले आयोजना गरेको गाउँपालिका सम्मेलनमा बोल्दै सुवेदीले विकास निर्माणका काम प्राथमिकतामा आधारमा गरियो भने त्यो दिर्घकालिन हुने बताएका छन । 
उनले बागलुङ क्षेत्र नं.१ प्रदेश सभा (ख) को विकासका निम्ती सवैको साझा जनप्रतिनिधि भएर काम गर्न आफु प्रतिवद्ध रहेको बताए । सुवेदीले चालु आर्थिक वर्षमा यस प्रदेश क्षेत्र भित्र झण्डै ६५ करोड बराबरको रकमका कुल १ सय ५१ वटा योजना रहेको जानकारी गराए । ति योजना कार्यान्वयन गर्ने काम भनेको यहाँका जनताको रहेको र यसल आगामी दिनमा अझ थप काम गर्न सहज हुने बताए । 
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेको युवा नेता सुवेदीले काँग्रेसबाट निर्वाचित हरेक जनप्रतिनिधि जनताकै काममा तल्लिन भएको बताए । ‘हामी काममा विश्वास गछौं, जनताको समस्यालाई मध्यनजर गरी विकास निर्माणका लागि अघि बढेका छौं सुवेदीले भने,–‘निर्वाचित भएको एक वर्ष पुग्दै छ, प्रचारबाजी भन्दा पनि काममा अगाडी बढ्ने हो, काम गरेपछि जनताले भोली आफै मुल्याङ्कन गर्नुहुनेछ ।  उनले जनताको माग अनुसारका योजनाहरु पहिलो वर्ष नै पुरा हुन नसकेपनि पाँच वर्षमा सम्बोधन हुने बताए । 
नेता सुवेदीले नेपाली काँग्रेस जनताप्रति उत्तरदायी पार्टी भएको बताए । उनले अहिले आएको व्यवस्था काँग्रेसकै नेतृत्वमा आएको हुँदा समाज र देश धान्ने पार्टी नै काँग्रेस भएको दाबी गरे । ‘संविधान निर्माण देखी मुलुकको हरेक परिवर्तन गर्ने काँग्रेस नै हो, पार्टी भित्र केही असहमती त होलान नै, सुवेदीले भने,–‘ति असहमतीलाई चिरेर परिवर्तनको बाटो हिड्नुपर्छ, अब काँग्रेसलाई रुपान्तरण गर्न जरुरी छ त्यसका लागि हामी नेता तथा कार्यकर्ता नै पहिले रुपमान्तरण हुन जरुरी रहेको छ । 
कार्यक्रममा बरेङका नेता तथा कार्यकर्ताले विकास निर्माण सँगै पार्टीको संगठन सुदृढिकरणका निम्ती केन्द्र देखी तल्लो तह सम्म लाग्नुपर्ने सुझाव दिएका थिए । उनिहरुले गाउँ वा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले आफ्ना कार्यकर्ता र जनताको काम प्रति उत्तरदायित्व बन्न नसकेको गुनासो पोखेका थिए । उनिहरुले केही पुराना नेताको गलत प्रवृत्तिको विकासले पार्टी जीवनलाई ठूलो धक्का बताएका थिए । 
कार्यक्रममा नेपाली काँग्रेस बागलुङ सचिव एवं जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले पार्टीको संगठन निर्माण र जनताको सवालमा बहस गर्न जरुरी रहेको बताए । उनले काँग्रेसलाई मजबुत र बलियो पार्टी बनाउँदै आगामी निर्वाचनमा एक्लै जनताको बीचमा जाने वाताबरण सिर्जना गर्न जरुरी रहेको बताए । ‘हिजो गठबन्धन भयो केहीमा यही कारण वितृष्णा पनि पैदा भयो, अब हामी एक्लै जनताको माझ पुग्ने हुनुपर्छ सचिव शर्माले भने,–‘आन्तरिक पार्टी सुधारका लागि यो अभियान सञ्चालन गरेका हौं । पार्टीलाई बलियो बनाउनका लागि वडा सम्मेलनदेखि उठेका विषयवस्तुहरु गाउँ नगर, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला,तहमा छलफल गर्नेछौं ।’ उनले नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि जनताको प्रत्येक्ष सेवामा जोडिनुपर्ने बताएका छन । 
कार्यक्रममा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख)का सचिव बालकृष्ण शर्मा, बरेङ गाउँपालिका वडा नं. ५ सुखौराका अध्यक्ष अमर शेरबुजा, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य श्रीकृष्ण पौडेल, सुजन सापकोटा लगायतले अबको काँग्रेस बलियो काँग्रेस भएर अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए ।  
सम्मेलनमा बरेङ गाउँपालिका भित्रका सवै वडाका वडा सभापति, स्थानिय नेता तथा कार्यकर्ता महिला संघ तरुणदलका नेताहरुले प्रदेश सभा सदस्य र काँग्रेस जिल्ला सचिवलाई केही जिज्ञासा सहित सुझाव दिएका थिए । 
कार्यक्रम नेपाली काँग्रेस बरेङ गाउँपालिकाका सभापति तुलसीराम कंडेलको अध्यक्षता, प्रदेश महाधिवेशन प्रतिनिधि सदस्य मोतिराम गौतमको स्वागत र गाउँपालिकाका सचिव अमृत गौतमको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया