बागलुङ - नेपाल पत्रकार महासंघका अध्यक्ष र महासचिवले हस्ताक्षर गरेर सार्वजनिक भएको सदस्यता सूचीप्रति प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले आपत्ति जनाएको छ । सदस्यता सुद्धिकरणका नाममा प्रेसचौतारी निकट पत्रकारहरुलाई खोजी खोजी सदस्यता खारेज गरेको भन्दै चौतारीले आपत्ति जनाएको हो ।
पत्रकार महासंघको सार्वजनिक भएको सदस्यता सूची प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले अस्वीकार गर्ने भन्दै तत्काल सूची सच्याउन प्रेस बिज्ञप्ती मार्फत आग्रह गरिएको छ । शाखाका सचिव अर्जुन कार्कीद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियानको पूर्ण समर्थन गर्ने तर केन्द्रीय समितिले बनाएको मापदण्ड र सर्कुलर अनुसार जिल्लास्तरबाटै सर्वसम्मत रुपमा प्रदेश समिति मार्फत केन्द्रीय समितिलाई सिफारिस गरिएको सदस्यतालाई केन्द्रीय समितिले आफु अनुकुल निर्णय गरको उल्लेख छ । महासंघ केन्द्रले विधि प्रक्रिया मिचेर थप्ने तथा हटाउने गरेको भन्दै चौतारीले जिल्लाबाट सिफारीस भएको नयाँ सदस्यताका बिषयमा छलफल नै नहुनुमा ध्यानाकर्षण भएको जनाएको छ ।
सदस्यतालाई गिजोलेर केन्द्रिय समितिले निर्वाचनको वातावरण विथोलेको चौतारीको आरोप छ । “ प्रकृया, मापदण्ड अनुसार पठाएको सिफारिस विपरित पत्रकारीता बाहेक सबै गर्नेको नाम समावेश हुने तर प्रेस चौतारीमा आस्था राखेकै आधारमा कृयाशिल पत्रकारलाई समेत सदस्यबाट हटाउने गरी भएको प्रपञ्चप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । ” बिज्ञप्तीमा भनिएको छ “सत्ता र शक्तिको आडमा गैर पत्रकार राखेर सार्वजनिक गरिएको नामावली तीन दिन (३ दिन) भित्र सच्याउनका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई आग्रह गर्दछौ । ३ दिनभित्र नामावली नसच्याएमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले थप कडा आन्दोलनमा जाने जानकारी गराउँछौं ।”