बागलुङ- सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लबको सहयोगमा बागलुङको काठेखोला गाउँपालिका–४ तंग्राममा निःशुल्क आँखा उपचार तथा डेन्टल शिविर संचालन भएको छ । शिविरमा ३३२ जना लाभाम्वित भएका छन् । लायन्स क्लव काठेखोला, पञ्चकोट र टाइगर टिमको सहयोग तथा आयोजना काठेखोला गाउँपालिकाको समन्वयमा बुधबार संचालन शिविरबाट स्थानीयले सेवा लिएका हुन् ।
विशिरमा मोतियाबिन्दुको शल्यक्रिया, चस्मा विवतरण र औषधी वितरण गरिएको लायन्स क्लब अफ बागलुङ पञ्चकोटका अध्यक्ष उमेश गौतमले जानकारी दिए । शिविर उद्घाटन गर्दै काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले ग्रामीण क्षेत्रका नागरिकलाई सहज रुपमा सेवा दिनका लागि यो शिविर फलदाई भएको बताए । उनले यस क्षेत्रका जेष्ठ नागरिकहरुमा आँखामा समस्या पाईएको हुँदा लायन्स क्लवसँग सहकार्य गरेर शिविर संचालन गरेको जानकारी दिए ।
स्थानीय ९० वर्षीय बदुरे नेपालीले आँखामा लामो समयदेखि समस्या आए पनि आर्थिक अभावका कारण अस्पताल जान नसेको भन्दै गाउँमा भएको शिविरबाट सेवा लिएको बताए । गाउँमै निःशुल्क आँखाको उपचार गराउन पाउँदा खुसी लागेको सुनाए । गाउँमा यस्ता खालका शिविरहरु समय–समयमा भईराखे आफूहरु जस्ता न्यून वर्गका नागरिकलाई सहज हुने नेपालीले बताए ।
कार्यक्रममा लायन्स ईन्टरनेशनल २२५ जे का गर्भनर मिलन थापाले लायन्स क्लब सामाजिक क्षेत्रको सेवामा सर्मपित भएको हुँदा धेरै ठाउँहरुमा यस्ता रचनात्मक काम गरेको बताईन । उनले स्थानिय सरकार सँग समन्वय गरी अन्य सेवामुलक काममा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन । कार्यक्रममा क्लब एक्सेन चिप नरेश कंडेल, रिजन चेयर पर्सन गणेश लम्साल लायन्स क्लब अफ बागलुङ पञ्चकोटको कोषाध्यक्ष बालकृष्ण शर्मा लगायतले बालेका थिए । शिविरमा धौलागिरी अस्पतालका विशेषज्ञ डाक्टरहरुको सहभागितामा सेवा प्रदान गरिएको थियो । कार्यक्रम लायन्स क्लब अफ पञ्चकोटका अध्यक्ष उमेश गौतमको अध्यक्षता, लायन्स क्लब अफ काठेखोलाका अध्यक्ष अर्जुन कंडेलको संचालन र तंग्रामका निवर्तमान वडा अध्यक्ष केशब बहादुर थापाको स्वागतमा सम्पन्न भएको थियो ।