बागलुङ- ब्रेन क्यान्सबाट पीडित बागलुङ बजारका युवा समाजसेवी राजु केसीको उपचारका लागि चालिएको उपचार सहयोग अभियानमा कुल ५३ लाख ३१ हजार ८ सय ८४ रकम सहयोग संकलन भएको छ । सकंकलन भएको रकम उपचार सहयोग समितिले शुक्रबार राजुका बाबु रामबहादुर केसीलाई हस्तान्तरण गरेको छ ।
परिवारको आर्थिक अवस्थाले थेग्न नसकेपछि केसीको उपचारमा नेपालबाट रु. ५० लाख संकलन गर्ने लक्ष्य रहेपछि रु. ५३ लाख सहयोग संकलन गर्न सफल भएको र विदेशमा समेत उठेको सहयोगले झण्डै रु. एक करोड रकम उपचारका लागि जुटेको राजु केसी सहयोग मुल समितिका संयोजक जगदिशचन्द्र उपाध्ययाले जानकारी दिए ।
बागलुङ नगरपालिका–२ घर भएका क्यान्सर पीडित राजु केसीको उपचारका लागि सहयोग संकलन अभियानलाई स्थगन समेत गरिएको उपाध्ययाले जानकारी दिए । ब्रेन क्यान्सर पीडित केसीको अष्ट्रेलियाको मेलबर्नमा उपचार भइरहेको छ । केसीको उपचारमा हालसम्म परिवारले रु. एक करोड ५० लाख खर्च गरिसकेको राजु केसीका बुबा राम बहादुर केसीले जानकारी दिए । लामो समय बागलुङका सामाजिक क्रिर्याकलापमा सक्रिय केसी ब्रेन क्यान्सरको समस्याले अस्पतालमा उपचाररत छन । दुई वर्ष अगाडीदेखि क्यान्सरको संक्रमण भएका केसीलाई परिवारका सदस्यले धेरै रकम खर्चेर उपचार गरिरहेका छन् । केसीको उपचारका लागि विभिन्न देशमा रहेका नेपालीहरुले पनि सहयोग रकम जुटाएका छन ।
परिवारका सदस्यले झण्डै रु.एक करोड ५० लाख खर्चेर पनि निको नभएकोले थप उपचारका लागि सहयोगको याचना गरेको गरिएको थियो । सहयोग संकलन अभियानमा बागलुङका विभिन्न व्यक्ति, संघ संस्था, विद्यालय, टोल समूह, आमा समूह र सहकारीका सदस्यहरुले सहयोग गरेका उपाध्ययाले जानकारी दिनुभयो ।