पोखरा- नेपाली कांग्रेसले २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कास्कीका ३ नेतालाई साधारण सदस्यता नरहने गरी कारवाही गरेको छ ।
कारवाहीमा पर्नेमा कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसी, कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का र कास्की जिल्ला क्षेत्र नम्बर २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ रहेका छन् । केसीलाई ३ महिना, खड्कालाई १ वर्ष र श्रेष्ठलाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यताबाट निष्कासन गरिएको हो । कांग्रेसको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले बुधवार विज्ञप्तिमार्फत यस्तो कारवाही गरिएको जनाएका हुन् ।
केन्द्रीय अनुशासन समितिको यही असार ९ देखि १७ गतेसमम बसेको बैठकले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारबिरुद्ध असहयोग गरी पराजीत गराउने गलत मनसायका साथ सामाजिक संजाल, अडियो÷भिडियो लगायत अनेकन हत्कण्डाहरु प्रयोग गरिएका प्रमाणहरुका आधारमा नेता तथा कार्यकर्तालाई निस्कासन÷निलम्बन गर्ने निर्णय गरिएको ढुंगानाले जनाएका छन् । ‘प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवारलाई असहयोग गरेको भनि परेको उजुरीमा अनुशासन समितिबाट स्पष्टीकरण सोधिएको र स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकाले उपलब्ध प्रमाणको आधारमा नेपाली कांग्रेसको बिधान २०१७ (संसोधनसहित ) धारा ३४ को उपधारा १ (क), (ख) र (घ) अनुसार एक वर्ष पार्टी सदस्यताबाट निस्कासन गर्ने निर्णय गरिएको हो’, विज्ञप्तिमा भनिएको छ ।
अनुशासन समितिले लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालसहित २३ जनालाई अनुशासनको कारवाही गरेको हो ।