बागलुङ- धौलागिरि अस्पतालले महिलाको पाठेघर खस्ने समस्या समाधानका लागि निशुल्क शिविर राख्ने भएको छ । अस्पतालले विभिन्न स्थानमा रहेर पहिलो चरणमा स्क्रिनिङ शिविर संचालन गर्ने र त्यसपछि शिविरको आधारमा पहिचान भएका बिरामीलाई उपचार र निशुल्क अपरेशन समेत गराउने योजना बनाएको हो ।
अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा स्त्रीरोग बिशेषज्ञ डा. रेखा शर्माले उक्त जानकारी गराएकी थिइन् । उनले पहिलो चरणमा काठेखोला, बरेङ गाउँपालिका र जैमिनी नगरपालिकामा स्क्रिनिङ शिविर संचालन गरेर पहिचान भएका बिरामीको धौलागिरि अस्पतालमा निशुल्क उपचार र अपरेशन गराउने बताइन् ।
शर्माका अनुसार अस्पतातले बैसाख ३० गते बरेङ, जेठ ५ गते जैमिनी र जेठ १२ गते काठेखोलामा स्क्रिनिङ शिविर संचालन गर्न लागिएको हो । त्यस बाहेक शिविरमा फिस्टुला, निसन्तान दम्पत्तिको समस्या समाधान, महिनावारी गडवडी, पिशाबको समस्या तथा प्रजनन् स्वास्थ्यबारे परीक्षण गरिनेछ । त्यस बाहेक पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर हुन सक्ने संभावनाको खोजी गरिने बताइएको छ ।
निजी संस्थामा गएमा पाठेघरको अपरेशन लगायतका उपचारमा डेढ लाख रुपैयाँसम्म खर्च हुनेछ । सरकारी अस्पतालमा भने सरकारले पठाइदिने प्रतिव्यक्ति १३ हजार र अस्पताल विकास समितिले थप गर्ने ६ हजार गरी १९ हजारको उपकरण र औषधी प्रयोगपछि अपरेशन गर्न सकिने गरी यो अवसर ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष नारायण शर्मा पौडेलले बताए । उनले राज्यको उत्तरदायित्व पुरा गर्ने र गाउँघरका बिरामीको उपचारमा पनि सहयोग गर्ने लक्ष राखिएको बताए ।
कार्यक्रममा अस्पताल विकास समितिकी सदस्य लक्ष्मी जिसी कार्कीले महिलाको शरीर संवेदनशिल भएकोले ग्रामीण क्षेत्रमा पुगेर उपचार गर्दै आवस्यक परेमा अपरेशन समेत गर्न चिकित्सक टोली खटाएको बताइन् । उनले पश्चिम बागलुङमा पनि यस्ता बिरामीको उपचारमा पहल गर्ने बताइन् ।
अस्पतालले अपरेशनको समय भने पछि तय गर्नेछ । गत बर्ष पनि विभिन्न स्थानमा भएका स्क्रिनिङबाट ३६ जनाको अपरेशन निशुल्क गरिएको थियो । कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रविरन्जन प्रधानले स्वागत गरेका थिए भने नवराज शर्माले कार्यक्रम संचालन गरेका थिए ।