बागलुङ - बागलुङलाई पूर्ण खोप सुनिश्चता दिगोपना घोषणा गरिएको छ । शुक्रबार गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरेका हुन ।
हरेक वर्ष वडा तह हुँदै पालिका तहलाई पूर्णखोप घोषणा पश्चात जिल्लालाई नै घोषणा गर्ने गरिन्छ । घोषणा कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पाठकले कुनै पानि बालबालिकालाई खोप पाउने अधिकारबाट बञ्चित गराउनु नहुने बताए । उनले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमले दिगो विकास लक्ष्य हासिल गर्न, बाल मृत्युदर तथा अपाङ्गताको दरलाई घटाउन सहयोगी भूमिका खेल्ने बताए । पाठकले गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ठुलो लगानी गरेको र लगानी अनुसारको प्रतिफल पनि हासिल गर्दै जाने बताए ।
जिल्लामा जन्मेदेखि १५ महिनासम्मका र १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाहरूले पूर्णखोप पाएको सुनिश्चिततासहित दस वटै पालिकालाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाइएको छ । बालबालिकाहरूले जन्मेदेखि ५९ महिनासम्मको अवधिमा विभिन्न प्रकारका खोप पाएका छन् ।“
राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरू पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगविरुद्ध पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेका छन् ।
बागलुङ नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ६६३ जना नियमित खोप लगाइरहेको र १६ देखि २४ महिना उमेर समूहका चार ४४९ जना बालबालिका, गलकोट नगरपालिकामा जन्मेदेखि १५ महिनासम्मका ४२७ जना बालबालिका र १६ देखि २३ महिनाका ३२७ जना बालबालिका, ढोरपाटन नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ६०८ जना र १६ देखि २३ महिना उमेर समूहका ४५४ जना बालबालिका रहेका छन । त्यसैगरी जैमिनी नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ३१३ जना बालबालिका र १६ देखि २३ महिना उमेर समूहका २२६ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितासहित गाउँपालिकालाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना पालिका घोषणा गरिएको छ ।
यस्तै ताराखोला गाउँपालिकामा कुल एक सय ९३ जना बालबालिका, बरेङ गाउँपालिकामा छ सय ४५ जना बालबालिका, तमानखोला गाउँपालिकामा दुई सय ७७ जना बालबालिका, काठेखोला गाउँपालिकामा चार सय ३४ जना बालबालिका, निसीखोला गाउँपालिकामा ८ सय २८ जना बालिबालिका र बडिगाड गाउँपालिकामा सात सय ९५ जना बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितासहित गाउँपालिकालाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना पालिका घोषणा गरिएको छ । पालिकाहरु घोषणा गर्नुअघि सबै वडालाई पूर्ण खोप वडा घोषणा गरिएको थियो ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा अगाडि गत माघ १ गतेदेखि वडा तहमा खोजपड्ताल कार्यक्रम सुरु गरिएको थियो ।
बागलुङ यस वर्षको पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको तेस्रो जिल्ला रहेको छ ।
यस अगाडी जिल्लाको दस वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका छन् । चार नगरपालिका र ६ गाउँपालिका रहेको बागलुङका सबै पालिका पूर्णखोप सुनिश्चितता घोषणा भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त कार्यलय प्रमुख घनश्याम सापकोटाले जानकारी दिए । कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा।विश्वबन्धु बगाले, बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, प्रदेश खोप अधिकृत एकनारायण लम्साल र पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा लगायतले मन्तव्य व्यक्त राखेका थिए ।
कार्यक्रम जिल्ला खोप समन्वय समितिका संयोजक अमर बहादुर थापाको अध्यक्षता धौलागिरि अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा। किरण तिवारीको स्वागत तथा जनस्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक देव प्रकाश घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।