जननिगरानी साप्ताहिक पत्रिका सातौं बर्षमा

  • असार ३, २०८०

बागलुङ । गुहेली युनिक संचार सहकारी संस्थाद्धारा प्रकाशित जननिगरानी साप्ताहिक पत्रिका सातौं बर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवमा बोल्दै काठेखोला गाँउपालिकाका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’ले समाजमा हुने हरेक प्रकारका गतिविधीलाई संचार क्षेत्रले निगरानी गर्नुपर्ने चर्चा  गरे । उनले राज्यबाट हुने गलत क्रियाकलापलाई संचारमाध्यमले खबरदारी गर्नुपर्नेमा जोड दिए । थापाले पत्रकारहरुले समृद्धिका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिए ।

‘बढ्दो विदेश पलायन रोकी युवा जनशक्तिलाई व्यवस्थित नगरेसम्म सम्मृद्धिको सपना पुरा हुदैन’ थापाले भने । उनले काठेखोला गाउँपालिकाका हरेक गतिविधिलाई बाहिर ल्याउन जननिगरानीले महत्पुर्ण भुमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममा वक्ताहरुले सहकारीलगायत समग्र आर्थिक क्षेत्रमा भएका बेतिथी र बिसंगतीलाई सही ठाउँमा ल्याउन पत्रकारले निगरानी बढाउनुपर्ने बताएका थिए । पछिल्लो समय सहकारीप्रति बिभिन्न टिकाटिप्पणी हुने गरेको चर्चा गर्दै सहभागीले सहकारीमा भएका सकारात्मक र नकारात्मक दुबै पक्षको संचारमाध्यमले उजागर गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा काठेखोला गाँउपालिका– २ का अध्यक्ष बिद्यापति शर्मा, वडा नं. ४ का अध्यक्ष लक्ष्मण पुन, सहकारी रज्रिष्टारको कार्यालयका अधिकृत चोलाकान्त वाग्ले, राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसी, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी र सहसचिव सृजना पन्तले मन्तव्य व्यक्त गरेका थिए ।

सहकारीले जननिगरानीसहित खबरवे अनलाइन संचालन गर्दै आएको छ । कार्यक्रम सहकारीका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षता र सचिव सूर्य थापाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया