नेपाली सेनाको विपद व्यवस्थापन सम्बन्धी अभ्यास गलकोटमा

  • ब‌ैशाख १७, २०८०

थम्मन थापा, गलकोट । भनिन्छ विपद् बाजा बजाएर आउँदैन । मानव जीवनमा अप्ठ्यारो, आपतकालीन, भयभित अवस्था सिर्जना भई धनजनको क्षति हुनु विपद्को समय हो । यस्तो संकट आकस्मिक र अप्रत्याशित रूपमा आउने हुँदा विपद्का बेला सधैँ होसियारी सहित तयारी हुनुपर्छ । विपत्ति प्राकृतिक र मानविय दुई कारणबाट हुने गर्दछ ।

प्राकृतिक विपत्तिमा हुने बाढी, पहिरो, भूकम्प, आँधी, तुफान, चट्याङ, स्वास्थ्यको प्रकोप जस्ता विपद् पर्दछन् भने मानवीय कारणबाट हुने विपदमा आगलागी, कमजोर संरचनाको निर्माण, दुर्घटना, वातावरणको विनाशबाट जोखिम भएको हुन्छ । 

मानवीय क्षति कम गर्न उद्धारको कार्यमा सक्रिय हुन, घाइतेको स्वास्थ्य उपचार, जोखिममा परेका मानिसको सुरक्षित स्थानमा स्थानान्तरण, अति आवश्यक सुविधाको व्यवस्थापन र स्वास्थ्य प्रकोप हुन नदिने विषयमा नेपाली सेनाले कृतिम घटनाको अभ्यास प्रदर्शन गरेको छ ।

बाढी, पहिरो, डुबान र आगलागीबाट प्रभावितहरूको स्थिति हेरी नागरिकको उद्वार घाइतेहरूलाई प्राथमिक उपचारका लागि सुरक्षित स्थानमा राख्ने, अशक्त भएकालाई प्राथमिक उपचार सँगै चाँडो सुविधा सम्पन्न अस्पतालमा लाने लगायतका डेमो प्रदर्शन गरिएको थियो ।

नेपाली सेनाद्धारा विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन जिल्लामा विभिन्न समयमा हुने विपदबाट जोगिन र त्यसको पूर्व तयारी तथा व्यवस्थापन स्वरूप त्यस सम्बन्धी कृत्रिम घटना अभ्यास गलकोट नगरपालिका वडा नम्वर ७ मा सम्पन्न भएको छ ।

नेपाली सेनाको श्री मेहरगण घोडाबाँधे बागलुङको आयोजनामा ३ दिने समुदायमा विपद् प्रतिकार्य तथा कृत्रिम घटनाको अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।  गलकोट नगरपालिका वडा नम्वर ७  दरमखोला स्थित भिमसेन ढुङ्गा परिसरमा बाढि पहिरो, खोलामा डुबान, बस्तीमा आगलागी लगायतका विषयमा कृत्रिम अभ्यास प्रदर्शनी गरिएको थियो । 

प्रदर्शनी कार्यक्रममा कृत्रिम घटना अभ्यासका लागि एम्बुलेन्स, ड्रोन क्यामेरा, रबर बोट, मोटर वोट, लाइफ ज्याकेट, विभिन्न औजार तथा उपकरण सहित बन्दोबस्तीका सामग्रीहरु नेपाली सेनाले प्रयोग गरेको थियो ।  जिल्लाका १० वटै स्थानीय तहको समन्वयमा, बिपत व्यवस्थापन सम्र्पक व्यक्तिहरूको सहभागितामा नेपाली सेनाको घोडाबाँधे स्थित श्री मेहरगणले उक्त प्रदर्शनी आज एक कार्यक्रमका बिच सम्पन्न गरेको नेपाली सेनाले जनाएको छ । 

कार्यक्रममा बोल्दै नेपाली सेना पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी दिपक कुमार बानियाँले बागलुङ जिल्ला विपद्मा जोखिमयुक्त जिल्ला भएकोले यो कार्यक्रमको आयोजना गरिएको बताए । बाँनियाले समाजमा हुने हरेक प्रकारका विपत्मा नेपाली सेना, नेपाल प्रहरी, सरकार, नागरिक र विपत्प्रतिकार्य तालिम प्राप्त नागरिकको सहकार्य हुनुपर्ने उल्लेख गरे । सो अवसरमा गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बद्रिनाथ अधिकारी, गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, सहभागी प्रशिक्षार्थी नवराज पौडेलले मन्तव्य राखेका थिए । 

वैशाख १५ र १६ गते नेपाली सेनाले जिल्लाका १० वटा स्थानीय तहका ३१ जना नागरिकलाई विपत्मा कसरी उद्दार गर्ने लगायतका विषयमा तालिम प्रदान गरेको थियो । त्यस्तै कार्यक्रम सफल पार्न सहयोग गर्ने जनप्रतिनिधी, संघसंस्था र व्यक्तिलाई सम्मान समेत गरिएको थियो ।
 

प्रतिक्रिया