बागलुङ - धौलागिरी अस्पतालमा बागलुङमा कार्यरत डाक्टर आशिष सापकोटालाई धम्की दिने सोही अस्पतालका डा.नन्दन प्रसाद शाहलाई बर्खास्त गरिएको छ । अस्पताल व्यवस्थापन समिति, प्रशासन र पीडित पक्षहरु बीच शुक्रबार गरिएको छलफल पश्चात उनलाई बर्खास्त गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रविरंजन प्रधानले जानकारी दिए ।
धम्की दिएपछि विवादमा तानिएका शाहले केही दिन अगाडि राजीनामा दिएको भन्दै शुक्रबारको बैठकले बर्खास्त गर्ने निर्णय गरेको प्रधानले जानकारी दिए । डा. शाहले अस्पतालमा नै कार्यरत डा सापकोटालाई दशैको दिन आग्रमण गर्ने खालको धम्की दिएको अस्पताल श्रोतले जनाएको छ ।
सापकोटालाई धम्की दिएपछि अस्पतालमा कार्यरत डाक्टर र कर्मचारीहरुले सहकर्मीबाट नै असुरक्षा बढेको भन्दै अस्पताल व्यवस्थापन समिति र मेसुलाई ध्यानाकर्षण गराएका थिए ।
डा. किरण तिवारी सहितको १५ जना चिकित्सक र स्वास्थ्यकर्मीले अतिरिक्त समयमा खटिएका डाक्टरमाथी उल्टै सेवा दिन नसक्ने डाक्टरले धम्काएको भन्दै डाक्टर शाहलाई कारवार्ही गर्न माग गर्दै ध्यानाकर्षण गराएका थिए ।
कार्वाही नभए स्वास्थ्य सेवा ठप्प पार्ने उनीहरुको चेतावनी थियो । स्वास्थ्यकर्मीहरुको चेतावनी पश्चात बसेको सर्वपक्ष बैठकले डाक्टर शाहलाई कार्वाही गर्ने निर्णय गरेको थियो ।