बागलुङ- नेपाली काँग्रेसका केन्द्रीय महामन्त्री मा. गगन कुमार थापा मंगलबार अर्थात भदौ १९ गते बागलुङ आउने भएका छन । नेपाली कांग्रेस बागलुङ प्रतिनिधि सभा क्षेत्र नं १ बागलुङले आयोजना गरेको क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्न महामन्त्री थापा बागलुङ आउने भएका हुन । सम्मेलनको तयारी पुर्ण रहेको क्षेत्रीय समितिले आईतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । पार्टीको संगठनलाई टोल टोलमा बलियो बनाउन र कार्यकर्तालाई प्रशिक्षण प्रदान गरी जागृत गर्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको सम्मेलनको सबै तयारी पुरा भएको जनाएको हो ।
पत्रकार भेटघाट कार्यक्रममा सम्मेलनको बारे जानकारी दिदै क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेलले क्षेत्रीय सम्मेलनमा प्रतिनिधि तथा पर्यवेक्षक गरी १ हजार जनाको सहभागिता रहने जानकारी दिए ।
नेता कार्यकर्तालाई उच्च मनोबलका साथ संगठनलाई बलियो बनाउनका लागि कार्यक्रम गर्न लागेको क्षेत्रीय सभापति पौडेलले बताए। सम्मेलनमा सांगठनिक प्रतिवेदन, संगठन सुद्धिकरण, गठबन्धन, अन्य दलसँगको सम्बन्ध, कार्यकर्ता र जनतालाई विकास निर्माणसँग जोड्ने लगायतका विषयमा छलफल हुने बताए । पौडेलले पार्टी भित्र उद्यमशिलता, पार्टीको नीति तथा कार्यक्रम लगायतका विषयमा पनि छलफल गरिने बताए । पत्रकार सम्मेलनको सञ्चालन क्षेत्रीय सचिव जयराम भारीले गरेका थिए ।
नेपाली कांग्रेस बागलुङले वडादेखि जिल्ला तहसम्मको सम्मेलन गर्ने अभियानमा रहेको छ । साउन ४ गतेको कांग्रेस बागलुङको जिल्ला कार्यसमितिको बैठकले जिल्लाका पाँच वटै तहमा सम्मेलन गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम वडा, नगर तथा पालिका र प्रदेश सभा क्षेत्र तहको सम्मेलन सम्पन्न गरेको कांग्रेसले १९ गते प्रतिनिधि सभा क्षेत्र १ को सम्मेलनको तयारी गरिएको हो । वडा गाउँ नगरको सम्मेलन सकिएको र प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रको सम्मेलन सकिए सँगै आगामी असोज ६ गते जिल्ला सम्मेलन सम्पन्न गर्ने तयारी गरेको काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए ।
सवै तहमा सम्मेलन सकिएपछि असोज ६ गते जिल्ला सम्मेलन गर्ने नेपाली कांग्रेस बागलुङले तयारी गरेको छ । सम्मेलनमा पार्टीका सवै तहका नेता तथा कार्यकर्ताको उपस्थितिमा हुनेछ । जहाँ राजनितिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र आगामी वर्षका कार्ययोजना समेत प्रस्तुत हुने कांग्रेस बागलुङले जनाएको छ ।