निर्वाचन केन्द्रित राजनीतिले देशको विकास सम्भव छैन—पुष्पा भुसाल

  • भदौ ८, २०८२

बागलुङ - नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख पुष्पा भुसालले काँग्रेसलाई मिसन ८४ को आवश्यकता नहुने बताईन । उनले देशकै ठुलो राजनितिक दललाई सधै जनताले साथ दिएका कारण कुनै मिसन आवश्यक नपर्ने बताएकी हुन । आईतबार नेपाली काँग्रेस बागलुङको महिला विभागले आयोजना गरेको तिज विशेष कार्यक्रममा बोल्दै भुसालले अहिले केही नयाँ राजनितिक दल मिसन ८४ र मिसन अधिवेशनको दौडानमा रहेता पनि काँग्रेसलाई त्यो आवश्यकता नरहेको बताईन । उनले काँग्रेस संघिय लोकतान्त्रिक गणतन्त्रलाई कसरी संस्थागत गर्ने भन्ने विषयमा रहेको हुँदा कुनै मिसनमा नहरेको बताईन । उनले जनताले आफ्नो अमुल्य मतबाट सम्मान गरेर सदनमा पठाएका सांसदले देश र जनताको चिन्ता भन्दा पनि मिसन ८४ को नारा लगाएर हिँडेको र अहिलको सरकारलाई काम गर्ने वातावराण सिर्जना नगरेको दाबी गरिन ।
‘अहिलेको वर्तमान समयमा देशलाई सही मार्गमा हिंडाउनपुर्नेछ, संसदबाट सरकारलाई खबरदारी गर्नुपर्नेमा मिसन ८४ को नारा लगाउँदै हिँड्ने काम भएको छ,’उनले भनिन,‘केवल निर्वाचन केन्द्रित राजनीतिले देशको विकास सम्भव छैन । देशको विकासका लागि वर्तमानमा केन्द्रित हुनुपर्छ ।’ उनले मुलुकमा दिगो शान्तिको स्थायित्व गराएर  भोलीका युवा पुस्तालाई परिवर्तनका नाममा सडकमा उत्रिन बाध्य नपार्ने काँग्रेसको योजना रहेको बताईन । 
भुषालले  लोकतन्त्रको स्थापनादेखि अहिलेसम्म लोकतन्त्रको पक्षमा वकालत गर्दै आएको पार्टी नेपाली काँग्रेस भएको बताईन् ।  ‘प्रजातन्त्रको स्थापना र लोकतन्त्र रक्षाका लागि नेपाली काँग्रेस र पार्टीको जन्म भएको हो,’उनले भनिन,‘काँग्रेसकै संघर्षबाट देशमा प्रजातन्त्र पनि आयो । यसलाई जोगाउनका लागि पटक पटक काँग्रेसले संघर्ष गर्दै आएको छ । काँग्रेस कमजोर हुँदा वित्तिकै लोकतन्त्र कमजोर हुन्छ । त्यसका लागि काँग्रेस बलियो हुनुपर्छ ।’ भुसालले फेरी प्रजातन्त्रका लागि संघर्ष गर्नुपर्ने अवस्था नआओस् भन्नका लागि पनि नेपाली काँग्रेसका आस्थावान र लोकतन्त्रवादीहरु एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताईन् ।
 ‘हामीले लोकतन्त्रकै लागि धेरै संघर्ष ग¥यौं, लोकतन्त्रको संघर्षमा कठिन दिनहरु बितायौं,’उनले भनिन्,‘फेरी यसरी संघर्ष गर्न नपरोस् भनेर हामी सबै एकतावद्ध भएर अगाडि बढ्नुपर्छ । अहिले विभिन्न प्रतिक्रियावादीहरुले टाउको उठाउने प्रयास गरेका छन् । त्यसलाई हामी सबै लोकतन्त्रवादीहरुको एकताबाट निस्तेज पार्नुपर्छ ।’ सामाजिक सद्भाव भड्काउने र अस्थीरता मच्चाउन चाहानेहरुले अहिले टाउको उठाउन खोजेको उनको भनाई छ । 
संविधानसभा सदस्य समेत रहेकी नेतृ भुसालले देशको ५१ प्रतिशत हिस्सा ओगटेका महिलाको राज्यले सही उपयोग गर्नसक्नुपर्ने बताईन् । ‘संविधान सभाबाट संविधान जारी हुने बेलामा हामीले महिला अधिकारका पक्षमा दह्रोसंग कुरा राख्यौं,’उनले भनिन्,‘कतिपय हाम्रा कुराहरु सम्बोधन भए कतिपय कुराहरु भएनन् । भएको अधिकारको कार्यान्वन अहिलेको मुख्य आवश्यकता हो ।’ उनले महिलाहरु आरक्षित सिटमा मात्र नभई प्रत्यक्ष निर्वाचनबाट चुनाव जित्नेगरी आफ्नो क्षमता विकास गर्नुपर्ने समेत बताईन् ।
 ‘महिलाहरु तोकिएको सिटमा मात्रै होईन् प्रतिस्पर्धा गरेर पनि निर्वाचन जितेर आउने क्षमताको विकास गर्नुपर्छ,’उनले भनिन्,‘आफ्नो योग्यता र क्षमताको विकास गरेर अगाडि बढ्न सकेको खण्डमा हामीले मागिररहनु पर्दैन । विद्रोह गरेर पनि आफ्नो अधिकार सुनिश्चीत गर्नसक्छौं ।’ उनले नेपाली काँग्रेसमा शान्तिपूर्ण विद्रोह गरेर आफ्नो अधिकारको रक्षा गर्न सकिने बताईन् । ‘हिजोको दिनमा योगमायाले विद्रोह नगरेको भए चन्द्र शमसेरले सति प्रथाको उन्मुलन गर्ने थिएनन्, विद्या कोईरालाले महिलाले पढ्न पाउनुपर्छ भनेर विद्रोह नगरेको भए अहिले हाम्रो अवस्था के हुन्थ्यो होला,’उनले भनिन्,‘हाम्रा अधिकारहरुको प्राप्तीका लागि शान्तिपूर्ण रुपमा विद्रोह गर्नुपर्छ ।’ 
तीज पर्व पनि विद्रोहको प्रतिक भएको उनको भनाई छ । ‘तिज पनि एउटा विद्रोहको प्रतिक हो, पार्वतीले शिव नै पति पाउनुपर्छ भनेर बुबा आमाको कुरा नमानी व्रत बसेका कारण उहाँले आफुले चाहेको श्रीमान पाउनुभयो,’उनले भनिन्,‘महिलाले आफ्नो अधिकार र छनोटका लागि विद्रोह गर्नुपर्छ भनेर यसले पनि देखाउँछ ।’ कार्यक्रममा केन्द्रीय सदस्य चम्पादेवी खड्काले चाडवर्पले एकता र समभाव राख्न सिकाउने बताईन् । 
‘हाम्रो चाडबाडले हामीले सामाजिक सद्भाव र एकता कायम गर्न सिकाउँछ,’उनले भनिन्,‘हामीले यसलाई नेपाली काँग्रेसको नवनिर्माणमा एउटा उर्जाका साथ उपयोग गर्नुपर्छ ।’ उनले संस्कृतिको संरक्षणसंगै चाडबाडले नयाँ ढंगबाट अगाडि बढ्न सिकाएको पनि बताईन् । नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष एवं बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले काँग्रेस बलियो बनाउन सबै एक ढिक्का हुनुपर्ने बताए । 
‘हामी सामाजिक सञ्जालमा साना तिना विषयलाई उछालेर निरासा बाँड्ने काममा लाग्छौं,’उनले भने,‘हाम्रा जनप्रतिनिधि र सरकारले गरेका राम्रा कामहरुको प्रचार गर्नमा समय खर्च गर्न सकेको खण्डमा पार्टी बलियो हुन्छ र जनतामा विश्वास र भरोसा जाग्छ ।’ देशमा केही भएन भन्ने गलत भाष्यको पछाडि सबै जाना भाग्दा समस्या भएको उनको भनाई छ । ‘देशमा केही भैरहेको छ हुन्छ भन्ने कुराको विश्वास दिलाउन सकिएको छैन,’उनले भने,‘त्यसले गर्दा पनि निरासाको खेती गर्नेहरुलाई सजिलो भएको छ ।’
 कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सभापति जितबहादुर शेरचन, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य एवं महिला विभाग प्रमुख शकुन्तला शर्मा लगायतले आफ्नो भनाई राखेका थिए । नेपाली काँग्रेस बागलुङकी सहसचिव एवं महिला विभाग प्रमुख ज्ञानु श्रीस शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रम काँग्रेस जिल्ला सदस्य सिता सापकोटाको स्वागत र महिला विभाग सदस्य पिंगला जि.सी खड्काको संचालनमा सम्पन्न भएको थियो ।  उक्त अवसरमा कलाकार तेजस रेग्मीले सांगितिक प्रस्तुती प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया