बागलुङ — बागलुङको बडिगाड गाउँपालिका स्वास्थ्य सेवा अन्तरगतको कार्य सम्पादनमा जिल्लाकै उत्कृष्ट बनेको छ । बडिगाडले प्रदान गर्ने स्वास्थ्य सेवाका बारेमा जिल्लाले गरेको मूल्यांकनमा जिल्लाकै उत्कृष्ट स्थान हासिल गरेको हो । स्वास्थ्य कार्यालयले गरेको आर्थिक वर्ष २०७९।०८० मा सम्पादित कार्यक्रमको बार्षिक समिक्षामा बडिगाड गाउँपालिलाई जिल्लाकै उत्कृष्ट गाउँपालिकाको रुपमा घोषणा गरि सम्मान गरिएको छ । स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्पादनलाई विभिन्न सूचकलाई आधार मानेर मुल्याङ्कन गर्दा बडिगाड जिल्लामै उत्कृष्ट पालिकाको रुपमा रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिए ।
मुल्याङ्कनको आधारमा जिल्लाको पश्चिम तमानखोला गाउँपालिका दोस्रो स्थानमा र गलकोट नगरपालिका तेस्रो स्थानमा रहेको छ । जिल्लाका १० स्थानिय तहमा स्वास्थ्य क्षेत्रमा भएका कार्यसम्पादन र विभिन्न सूचकका आधारमा मुल्याङन गरिएको कार्यालय प्रमुख शर्माले बताए ।
कार्यालयले विभिन्न अन्य तिन विधामा पनि मुल्याङ्कन गरेको छ । उत्कृष्ट स्थानिय तह सँगै उत्कृष्ट स्वास्थ्य संस्था, उत्कृष्ट पोष्टर प्रिजेन्टेशन र हात्तिपाईले रोग निवारण अभियान अन्तरगत आम औषधी खुवाउने उत्कृष्ट पालिकालाई सम्मान गरिएको थियो । उत्कृष्ट स्वास्थ्य संस्थामा बडिगाड गाउँपालिकाको खर्बाङ आधारभुत स्वास्थ्य सेवा केन्द्र पहिलो, तमानखोला गाउँपालिकाका बोङ्गोदोभान स्वास्थ्य चौकी दोस्रो, निसीखोला गाउँपालिकाका बोहोरागाउँ स्वास्थ्य चौकी तेस्रो र गलकोट नगरपालिकामा रहेका हटिया स्वास्थ्य चौकी सान्त्वना भएका थिए ।
जिल्ला स्तरीय समिक्षामा जिल्लाका दश वटै स्थानिय तहले गत आवमा कार्यसम्पादन गरेका उपलब्धीको बारेमा फेलेक्स पोष्टर प्रिजेन्टेशन गरेका थिए । यसमा गलकोट नगरपालिका पहिलो, बागलुङ नगरपालिका दोस्रो, तमानखोला गाउँपालिका तेस्रो र बडिगाड गाउँपालिकाले सान्त्वना स्थान हासिल गरेका थिए ।
त्यसैगरी गत आवमा जिल्लामा हात्तिपाईले रोग निवारण अभियानको आम औषधी खुवाउने अभियानमा बागलुङ नगरपालिकाले उत्कृष्ट स्थान हासिल गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
दुई दिन सम्म संचालन भएको समिक्षामा गाउँ नगरपालिकामा भएका विभिन्न सूचकका बारेमा बृहत छलफल गरी आगामी कार्यक्रमका बारेमा समेत छलफल गरिएको स्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घनश्याम सापकोटाले जानकारी दिए ।
समापन कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालय बाग्मती प्रदेशका स्वास्थ्य निर्देशक एवं स्वास्थ्य कार्यालय बागलुङ पुर्व प्रमुख दिपकप्रसाद तिवारीले विगतमा भन्दा बागलुङका सवै स्थानिय तहमा स्वास्थ्यका कार्यक्रममा सुधार भएको बताए । उनले आगामी दिनमा हरेक कार्यक्रमलाई प्रभावकारी बनाउनका निम्ती स्वास्थ्यकर्मीकै महत्वपुर्ण भुमिका हुने बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतका प्रमुख एकनारायण लम्साल, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ तथ्याङ्क अधिकृत दिवाकर पौडेल, तमानखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलबहादुर छन्त्यालले बोलेका थिए ।
समिक्षामा बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल, काठेखोलाका सोमराज पाण्डे, गलकोट नगरपालिकाका सुशिल पौडेल, बडिगाड गाउँपालिकाका विपेन्द्र केसी, ढोरपाटन नगरपालिकाका केशव थापा, तमानखोला गाउँपालिकाका तिलबहादुर छन्त्याल, निसीखोला गाउँपालिकाका जुनी घर्ति मगर, बरेङ गाउँपालिकाका पदम बहादुर पुन, जैमिनी नगरपालिकाका गोविन्द शर्मा र ताराखोला गाउँपालिकाका दलबहादुर पुलिसाले आफ्नो आफ्नो पालिकाको बार्षिक प्रगतिको बारेमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा स्वास्थ्य क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था फेयरमेड लगायतका संस्थाले बार्षिक प्रगतिको बारेमा समिक्षा गरेका थिए ।
कार्यक्रम स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माको अध्यक्षता र सूचना अधिकारी घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।