केन्द्रीय सदस्य पौडेल नेपाली जनसम्पर्क समन्वय विभागको प्रमुखमा

  • जेठ १७, २०८१

काठमाडौ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज पौडेल  काँग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागको प्रमुखमा मनोनयन  भएका छन । सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिका सदस्यमा रहेका पौडेललाई उक्त जिम्मेवारी दिएका हुन । 

देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम पौडेललाई प्रमुखमा मनोनयन गर्नु भएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विसं २०३६ सालदेखि नेविसंघको विद्यार्थी संगठनबाट आफ्नो राजनीति शुरू गरेका पौडेल विसं २०४२ सालको सत्याग्रहमा भाग लिदा चितवनमा गिरिफ्तारीमा परेका थिए । पौडेल विसं २०४६ सालमा त्रिचन्द्र क्याम्पसको अध्यक्ष हुँदै केन्द्रीय सदस्य र महामन्त्री समेत भएका थिए ।

विसं २०४६ सालको जनआन्दोलनमा विद्यार्थी नेताको रूपमा आन्दोलनको नेतृत्व गरेका पौडेल विसं २०५१ सालमा नेपाली कांग्रेस जिल्ला समिति बागलुङको जिल्ला सदस्य रूपमा क्रियाशिल थिए । बागलुङ नगरपालिकाको पैयुपाटा गाउँमा विसं २०२३ सालमा जन्मिएका पौडेल विसं २०६० सालमा महासमिति सदस्य समेत भएका थिए ।

प्रतिक्रिया