नारायण रिजाल- बागलुङ । गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश सांसदको कार्यालय स्थापना गरेका छन । बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (२) बाट निर्वाचित सांसद सुवेदीले निर्वाचनको समयमा जनता माझ गरेका प्रतिवद्धता अनुरुप आफ्नो कार्यालय संचालन गरेका हुन । सुवेदीले यस क्षेत्रको केन्द्रको रुपमा रहेको जैमिनी नगरपालिकाको कुश्मिसेरामा शुक्रबार देखी प्रदेश सांसदको कार्यालय संचालनमा ल्याएका छन ।
यस क्षेत्रका जनता सँग प्रत्यक्ष रुपमा जोडिएर उनिहरुको गुनासो सुन्ने तथा साझा सम्पर्क थलोको रुपमा विकास गर्न कार्यालय खोलिएको सांसद सुवेदीले बताए । जनताका समस्या र विकास निर्माणका काम सँग निरन्तर जोडिनका निम्ती कार्यालय संचालन गरिएको उनको भनाई छ ‘जनप्रतिनिधि भए सँगै पहिलो प्राथमिकता भनेकै जनताको काम हो, निरन्तर जनता सँग जोडिने माध्ययमको रुपमा कार्यालय हुनेछ, सुवेदीले भने,–‘हामी समय समयमा कार्यालयमै बसेर यस क्षेत्रको विकास निम्ती छलफल गछौं, प्रदेश सरकारबाट यस क्षेत्रमा भएका योजनाको प्रभावकारीता देखी कार्यान्वयनमा जोड दिन्छौं सधै जनताको साथमा निरन्तर रहनेछौ ।’ सांसद कार्यालयमा विदाको समय बाहेक अन्य दिन विहान १० बजे देखी दिउँसो १ बजे सम्म नियमित एक जना कर्मचारी हुनेछन । कर्मचारी मार्फत जनताका कुराहरु सुन्ने र यसलाई कसरी सम्बोधन गर्न त्यसमा पनि जनता सँगै बसेर छलफल गर्ने उनले बताए । सुवेदीले यस क्षेत्रको ‘शिर देखी, तिर सम्म र फाँट देखी भिर सम्म’ सम्भावनाको खोजी गरी स्थानिय सरकार सँगको समन्वयमा एक गाउँ एक विशेष कार्यक्रम तय गर्ने बताएका छन । कार्यालय मार्फत शिक्षा, स्वास्थ्य, सडक पुर्वाधार लगायतका विषयमा वडा तहमै पुगेर परामर्श गरी प्राथमिकताका आधारमा कामहरु अगाडी बढाईने छ ।
प्रदेश सांसदको कार्यालय स्थापना सँगै प्रदेश सरकार पनि स्थानिय तहमा सँग सँगै भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । उनले जनताको सेवा र विकासका काममा सांसदको कार्यालयलाई जैमिनी नगरपालिकाको सहयोग रहने बताए ।
कार्यालय संचालन भए पश्चात जनताको गुनासो सुन्ने मुख्य माध्यय भएको नेकपा माओबादी केन्द्रका गण्डकी प्रदेश सदस्य कुलचन्द शर्माको भनाई छ । ‘निर्वाचनको बेला गरेका प्रतिवद्धता त कार्यान्वयन हुँदै जालान शर्माले भने,–कार्यालय स्थापना सँगै जनता सँग सांसद प्रत्यक्ष रुपमा जोडिनु राम्रो पक्ष हो ।’ कार्यालय स्थापना सँगै यस क्षेत्रका किसानहरुलाई बाँझा भिरपाखामा अम्रिसो खेती लगाउन प्रेरित गर्ने उद्देश्यले अम्रिसोको विरुवा वितरण गरिएको छ । बलेवा, जैमिनी र बरेङ गाउँपालिका क्षेत्रमा १८ वटै वडामा ५० हजार अम्रिसोको विरुवा वितरण गरिएको सांसद सुवेदीका स्वकिय सचिव ओमकार सुवेदीले जानकारी दिए । अम्रिसो कुचो, गाई बस्तुका लागि घाँस र भु–क्षय रोक्नका लागि बाँझो र भिरालो जमिनमा लगाईन्छ ।
कार्यालय संचालन कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता ठाकुर शर्मा बरेङ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष अमर शेरबुजा लगायतल कार्यालय स्थापनाले यस क्षेत्रका जनतालाई थप उत्साह आएको बताए । उनिहरुले आगामी दिनमा यस्तै कार्यक्रमहरु कार्यालय मार्फत संचालन गर्न जनतासंग प्रत्यक्ष सम्पर्कमा रहन सुझाव दिए ।
कार्यक्रम जैमिनी नगरपालिका–१ कुश्सिेराका वडा अध्यक्ष विष्णु आचार्यको अध्यक्षता र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुजन सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।