बागलुङ- बागलुङमा आईतबार देखी बालबालिकालाई पोलियो विरुद्ध ‘आइपिभी’ खोप लगाउने अभियानको सुरुवात गरिएको छ । जेठ २६ गते सम्म संचालन हुने अभियानमा जिल्लाका दश वटै स्थानिय तहका ११ हजार ७ सय ११ जना बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा पनि ‘आइपिभी’ को व्यवस्था गरिएको छ । खोप अभियानमा २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेटिने स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाईजर राजु खत्रीले जानकारी दिए । विसं २०७१ देखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आइपिभी खोपको अभाव हुँदा देशभरका बालबालिका खोपबाट वञ्चित भएकाले अभियान सञ्चालन गरिएको उनले जानकारी दिए ।
नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र ७ पटक १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था गरिएको तथा त्यस अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप लगाउने व्यवस्था गरिएको खत्रीले बताए ।
अभियानको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले खोप लगाउनु पर्ने सवै बालबालिकालाई अनिवार्य रुपमा यो अभियानमा खोप लगाउन सवै अभिभावकलाई आग्रह गरे । उनले जिल्लाका हरेक विद्यालयस्तरमा नै यो खोप अभियान संचालन हुने हुँदा शिक्षकहरुले पनि सहयोग गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले पोलियो रोगको सङ्क्रमण रोक्ने एकमात्र प्रभावकारी उपाय खोप भएको हुँदा यसबाट कुनै पनि बालबालिकालाई बञ्चित नहुने वातावरण गराउन सवैमा आग्रह गरे । उनले जनप्रतिनिधि पनि यो अभियानका लागि निरन्तर खट्न आवश्यक रहेको बताए । उनले बागलङका सवै खोप केन्द्र र विद्यालयमा स्वास्थ्यकर्मिको प्रत्यक्ष सहभागितामा यो खोप लगाउने हुँदा सवै बालबालिकालाई सहभागिता गराउन आम बागलुङबासीलाई आग्रह गरे । कार्यक्रममा खोप लगाउने बालबालिकालाई खोप कार्ड प्रदान गरेर अभियानको शुभारम्भ गरिएको थियो ।
कार्यक्रम नगरप्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षता स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाईजर राजु खत्रीको स्वागत र बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेब डिल्लीप्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो ।