बागलुङ - बागलुङको धौलागिरि अस्पतालमा पाँच डायलाइसिस मेसिन थप हुने भएका छन । बागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठको पहलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई मेसिन उपलब्ध गराएको हो । २०७६ सालदेखि निरन्तर डायलाइसिस सेवा प्रवाह हुँदै आएको हाल पाँच वटा मेसिनबाट सेवा प्रवाह गरिएको छ । मृगौला रोगबाट पिडित विरामीको संख्या बढ्दै गएको हुँदा निरन्तर सेवा प्रदान गर्नका लागि थप पाँचवटा मेसिन मन्त्रालयमा माग गरी ल्याईएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । श्रेष्ठले धौलागिरि अस्पतालसँगै बागलुङ नगर अस्पताललाई पनि मन्त्रालयले आवश्यक औषधी तथा उपकरण गराउने बताए । पछिल्लो समय धौलागिरि अस्पतालमा सेवासुविधा सहज रुपमा प्रदान हुन थालेपछि बिरामीको चाप पनि उत्तिकै बढेको हुँदा सेवालाई थप प्रभावकारी बनाउनका लागि आवश्यक उपकरण माग गरिएको प्रमुख श्रेष्ठको भनाइ छ ।
दुई साता पहिले धौलागिरी अस्पतालको निरिक्षणमा नगरप्रमुख श्रेष्ठले डायलाइसिस मेसिनहरुको निरिक्षण गरेका थिए । विरामीको चाप देखीपछि नगरप्रमुख श्रेष्ठले प्रदेश तथा केन्द्र सँग समन्वय गरेर मेसिन थप गर्नका निम्ती आग्रह गर्ने बताएका थिए ।
उनले भने, “बागलुङका धेरै बिरामीहरु पहिले पोखरा काठमाडौँ पुगेर उपचारका लागि लाखौँ खर्च गर्नुपर्ने बाध्यता थियो, तर अहिले त्यो बाध्यता हटेको छ, सेवा लिनेको सङ्ख्या बढेपछि उपकरण बढी आवश्यक पर्ने देखियो, मन्त्रालयमा पुगेर मन्त्रीसँग माग गरेपछि उहाँले पाँच थान डायलाइसिस मेसिन र अन्य उपकरण उपलब्ध गराउनु भएको छ, उहाँ पनि केही दिनमा बागलुङ आएर यहाँको अवस्था बुझ्नु हुने छ ।”
धौलागिरि अस्पताल बागलुङ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविरञ्जन प्रधानले हाल ४० जना मिर्गौला पीडित बिरामीले नियमित सेवा लिइरहेको बताए । दैनिक तीन चरणमा डायलाइसिस सेवा दिने गरेको भन्दै थप पाँचवटा मेसिन सञ्चालनमा आएपछि बिरामीले घण्टौँ कुर्नुपर्ने अवस्थाको अन्त्य हुने डा प्रधानले बताए । अस्पतालमा हाल पाँचवटा डायलाइसिस मेसिन सञ्चालनमा रहेको उनले बताए ।
“अहिले हामीसँग पाँचवटा मेसिन सञ्चालित छन्, ती मेसिनबाट बिरामीले दैनिक सेवा लिई राख्नुभएको छ, तर उहाँहरुले अस्पताल आउँदा बित्तिकै सेवा पाई राख्नुभएको छैन, केही बेर (वेटिङ) गर्नुपर्ने अवस्था छ,” मेडिकल सुपरिटेन्डेन्ट प्रधानले भने, “अब त्यो अवस्था आउने छैन, सेवा थप प्रभावकारी हुने छभने बिरामीले तुरुन्तै सेवा पाउनुहुने छ, बिरामीको गुनासो पनि आउने छैन, हामीहरुले पनि सक्दो चाँडो सेवा दिएर उहाँहरुलाई खुसी बनाउने प्रयास गर्ने छौँ ।