पोखरा - बढ्दो प्रशासनिक खर्च घटाउने भन्दै गण्डकी प्रदेश सरकारले ७ वटा निर्देशनालय खारेज गरी मन्त्रालयमा गाभ्ने र १८५ कर्मचारी दरबन्दी कटौती गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका अनुसार यो कदमले तत्कालै प्रदेश सरकारको करिब ५० करोड रुपैयाँ बराबरको आर्थिक भार कम हुनेछ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रशासनिक पुनर्संरचनाका लागि गठित अध्ययन समितिले दिएको सुझाव र प्रमुख सचिव नेतृत्वको समितिले दिएको प्रतिवेदनका आधारमा ७ निर्देशनालयसहित ९ कार्यालय पूर्णतः खारेज गर्ने निर्णय गरेको हो ।
खर्च मितव्ययिता र चुस्त सेवा प्रवाहका लागि कार्यालय खारेज र मर्ज गरिएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । यसबाट तत्काल ५० करोड आर्थिक भार कम हुने पाण्डेको भनाइ छ । ‘प्रदेश संरचना महँगो भयो र राज्यको खर्च बढायो भन्ने आम जनगुनासोलाई सम्बोधन गर्दै प्रशासनिक खर्च कटौती गर्नु नै हाम्रो मूल उद्देश्य हो,’ उनले भने, ‘हामीले यो संरचना घटाएर पनि काम सम्पन्न गर्न सक्छौँ भने अनावश्यक संरचना किन राख्ने ?’
आज बिहान बसेको गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले पर्यटन, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पूर्वाधार विकास निर्देशनालय, वन निर्देशनालय, शिक्षा विकास निर्देशनालय र प्रादेशिक स्वास्थ्य निर्देशनालय खारेज गर्ने निर्णय गरेको हो ।
यसैगरी प्रादेशिक स्वास्थ्य तालिम केन्द्र र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र समेत खारेज गर्ने निर्णय भएको छ । कार्यालय घटाए पनि सेवा प्रवाहमा कुनै समस्या र संकुचन नआउने पाण्डेको दाबी छ ।
यसैगरी, विभिन्न ३२ वटा निकायलाई गाभेर १७ वटा बनाउने निर्णय समेत मन्त्रिपरिषद बैठकले गरेको छ । गण्डकी सरकारले नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा प्रदेश प्रशासनिक संरचना पुनरवलोकन अध्ययन तथा सुझाव समिति गठन गरेको थियो । २०८१ चैतमा गठन भएको सो समितिमा पूर्वसहसचिव महेश्वर नरसिंह केसी र अर्का सहसचिव अच्युत लामिछाने सदस्य थिए ।
समितिले बुझाएको प्रतिवेदनलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर अन्तिम रुप दिन प्रमुख सचिव खगेन्द्रप्रसाद सुवेदी संयोजकत्वमा ५ सदस्यीय अर्को समितिलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जिम्मा दिएका थिए । सोही अनुसार प्रतिवेदन क्रमशः कार्यान्वयन गर्दै जाने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।
कुन कुन कार्यालय गाभिए, के के खारेज भए ?
प्रदेशका सबै ७ वटा निर्देशनालय खारेज गरिएको छ । हाल प्रदेशमा पर्यटन, कृषि, पशुपन्छी, पूर्वाधार, वन, शिक्षा र स्वास्थ्य मन्त्रालय अन्तर्गत निर्देशनालय थिए । त्यसबाहेक २ वटा केन्द्र (प्रादेशिक स्वास्थ्य तालिम केन्द्र र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र) पनि खारेज भएका छन् । अब मन्त्रालय मातहत निर्देशनालय रहने छैनन् । निर्देशनालयको जिम्मेवारी सिधै मन्त्रालयले हेर्ने मुख्यमन्त्री पाण्डेले सुनाए ।
प्रदेश अन्तर्गत ११ जिल्लामा रहेका उद्योग पर्यटन र सामाजिक विकास कार्यालयहरूलाई घटाएर ६-६ वटामा झारिएको छ । अब एउटै कार्यालयले दुई जिल्ला हेर्ने गरी कार्यक्षेत्र तोकिएको छ । त्यसैगरी, मनाङ र मुस्ताङका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताललाई गाभेर एक-एक वटा कार्यालय बनाइएको छ । क्षयरोग केन्द्र र स्वास्थ्य प्रयोगशाला गाभिएको छ ।
यी कार्यालय खारेजी र गाभ्दा १८५ दरबन्दी कटौती हुनेछ । तत्कालका लागि अधिकृतस्तरका ४१, सहायकस्तरका ९६ र श्रेणीविहीन ४८ कर्मचारीको दरबन्दी कटौती हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ । यो निर्णयसँगै मन्त्रालयहरूले ३० दिनभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्नुपर्ने भएको छ । त्यतिबेला पनि केही दरबन्दी कटौती हुन सक्ने मुख्यमन्त्री पाण्डेले बताए ।
प्रदेश सरकारले गरेको निर्णयले तत्काल कर्मचारीको तलबमा मात्रै वार्षिक ४० देखि ५० करोड रुपैयाँ बचत हुने अनुमान गरिएको छ । कार्यालय सञ्चालन र अन्य प्रशासनिक खर्चसमेत जोड्दा यो रकम अझ बढ्ने र दीर्घकालमा अवकाशपछिको दायित्वमा समेत ठुलो कटौती भई प्रदेशलाई आर्थिक रूपमा सबल बनाउन मद्दत पुग्ने पाण्डेले दाबी गरे ।
खारेज भएका सात निर्देशनालय र दुई निकायहरु:
१. पर्यटन, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
२. कृषि विकास निर्देशनालय
३. पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय
४. पूर्वाधार विकास निर्देशनालय
५. वन निर्देशनालय
६. शिक्षा विकास निर्देशनालय
७. प्रादेशिक स्वास्थ्य निर्देशनालय
८. प्रादेशिक स्वास्थ्य तालिम केन्द्र
९. प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र
यसैगरी विभिन्न ३२ वटा निकायलाई गाभेर १७ वटा बनाउने निर्णय समेत मन्त्रिपरिषद बैठकले गरेको छ ।
यी हुन् गाभिएका निकायहरु :
क्र.सं. | गाभिने निकाय | गाभिएपछि बन्ने निकाय र कार्यक्षेत्र |
१. |
१. पर्यटन तथा उद्योग कार्यालय, म्याग्दी र
२. पर्यटन तथा उद्योग कार्यालय मुस्ताङ |
१. पर्यटन तथा उद्योग कार्यालय, म्याग्दी (म्याग्दी र मुस्ताङ कार्यक्षेत्र) । |
२. |
३. पर्यटन तथा उद्योग कार्यालय, बागलुङ र
४. पर्यटन तथा उद्योग कार्यालय, पर्वत |
पर्यटन तथा उद्योग कार्यालय, बागलुङ (बागलुङ र पर्वत कार्यक्षेत्र) । |
३. |
५. पर्यटन तथा उद्योग कार्यालय, स्याङ्जा र
६. पर्यटन तथा उद्योग कार्यालय, कास्की |
पर्यटन तथा उद्योग कार्यालय, कास्की (स्याङ्जा र कास्की कार्यक्षेत्र) । |
४. |
७. पर्यटन तथा उद्योग कार्यालय, तनहुँ र
८. पर्यटन तथा उद्योग कार्यालय, गोरखा |
पर्यटन तथा उद्योग कार्यालय तनहुँ (तनहुँ र गोरखा कार्यक्षेत्र) । |
५. |
९. पर्यटन तथा उद्योग कार्यालय, मनाङ र
१०. पर्यटन तथा उद्योग कार्यालय, लमजुङ
|
पर्यटन तथा उद्योग कार्यालय, लमजुङ (लमजुङ र मनाङ कार्यक्षेत्र) । |
६. |
११. बाली संरक्षण प्रयोगशाला,
१२. माटो तथा मल परीक्षण प्रयोगशाला र १३. प्रदेश बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र |
एकापसमा गाभी एकीकृत प्रयोगशालाको रुपमा परिणत गर्ने । |
७. |
१४. कृषि ज्ञान केन्द्र, मनाङ र
१५. भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मनाङ |
एकापसमा गाभी एकीकृत कार्यालयको रुपमा परिणत गर्ने । |
८. |
१६. कृषि ज्ञान केन्द्र, मुस्ताङ र
१७. भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुस्ताङ |
एकापसमा गाभी एकीकृत कार्यालयको रुपमा परिणत गर्ने । |
९. | १८. बागवानी विकास स्रोत केन्द्र, पोखरा | कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र पोखरामा गाभ्ने । |
१०. |
१९. सामाजिक विकास कार्यालय, म्याग्दी र
२०. सामाजिक विकास कार्यालय, मुस्ताङ |
सामाजिक विकास कार्यालय, म्याग्दी (मुस्ताङ र म्याग्दी कार्यक्षेत्रं) । |
११. |
२१. सामाजिक विकास कार्यालय, बागलुङ र
२२. सामाजिक विकास कार्यालय, पर्वत |
सामाजिक विकास कार्यालय, बागलुङ (बागलुङ र पर्वत कार्यक्षेत्र) । |
१२. |
२३. सामाजिक विकास कार्यालय, स्याङ्जा र
२४. सामाजिक विकास कार्यालय, कास्की |
सामाजिक विकास कार्यालय, कास्की (स्याङ्जा र कास्की कार्यक्षेत्र) । |
१३. |
२५. सामाजिक विकास कार्यालय, तनहुँ र
२६. सामाजिक विकास कार्यालय, गोरखा
|
सामाजिक विकास कार्यालय, तनहुँ (तनहुँ र गोरखा कार्यक्षेत्र) । |
१४. |
२७ सामाजिक विकास कार्यालय, मनाङ र
२८. सामाजिक विकास कार्यालय, लमजुङ |
सामाजिक विकास कार्यालय, लमजुङ (मनाङ र लमजुङ कार्यक्षेत्र) । |
१५. |
२९. व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, पर्वत र
३०. व्ययवसायिक तथा सिप विकास तालिम केन्द्र, कास्की |
गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक प्रतिष्ठान पोखरामा गाभ्ने । |
१६. | ३१. प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र, पोखरा | प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गाभी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला तथा क्षयरोग नियन्त्रण केन्द्र पोखरामा परिणत गर्ने । |
१७. | भूमिगत जलस्रोत तथा सिंचाइ कार्यालय, नवलपरासी पूर्व | जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय नवलपरासी पूर्वमा गाभ्ने । |