काँग्रेस बागलुङले भन्यो लोकतान्त्रिक विधिमार्फत समस्याको समाधान खोजौँ

  • भदौ २६, २०८२

बागलुङ-  नेपाली काँग्रेस बागलुङले लोकतान्त्रिक विधिमार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ । नेपाली काँग्रेसका सभापति जीतबहादुर शेचरनले बिहीबार एक विज्ञप्ती जारी गर्दै संविधानको रक्षा र लोकतान्त्रिक विधि मार्फत हालको समस्या समाधानको लागि सबै जना तयार बन्नुपर्ने उल्लेख गरेका छन् । जारी विज्ञप्तीमा जेनजी युवाहरुले सुरु गरेको आन्दोलनका क्रममा जीवन गुमाउने सम्पूर्ण युवाहरुकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
 देशमा भ्रष्ट्राचारको अन्त्य, सुशासन र समुन्नतिका लागि उठेको आवाजहरुलाई लोकतान्त्रिक प्रणालीको बाटोबाट निरुपण गरिनुपर्ने बताउँदै यसका लागि सबै जनाको संलग्नता र समन्वयको आवश्यकता रहेको विज्ञप्तीमा जनाईएको छ । जुनसुकै परिस्थितिमा पनि राष्ट्रियता र लोकतन्त्रप्रति प्रतिबद्ध रहदै राष्ट्र हितका निम्ति जिम्मेवार भूमिका निर्वाह गर्न दृढ रहेको र आन्दोलनको क्रममा यही भाद्र २३ गते मंगलबार मानवीय क्षेति र २४ गते सोमबारका दिन हाम्रा धरोहरहरु माथि भएको आगजनीप्रति निन्दा समेत गरिएको छ । 
‘नागरिक अधिकारको रक्षाका निम्ति अविरल संघर्ष गरेका नेता नेपाली काँग्रेसका सभापति, पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा माथि भएको आक्रमण तथा सबै भौतिक आक्रमणहरुका प्रति भत्र्सना गर्दछौं,’ विज्ञप्तीमा उल्लेख गरिएको छ । अहिलेको विषम परिस्थितिबाट उठ्न र पुननिर्माणमा जुट्न संवाद, सहकार्य एकता अपरिहार्य रहेको उल्लेख गर्दै जस्तो सुकै प्रतिकुलतामा पनि सामाजिक सद्भाव र सहिष्णुता प्रदर्शन गर्नु नेपाली समाजको संस्कार भएको जनाईएको छ । ‘अस्थिर अवस्थाको फाइदा उठाउँदै भइरहेका चोरी लुटपाट लगायतका विभिन्न अराजक गतिविधिहरुलाई निरुत्साहित गर्न सहकार्यका लागि नेपाली कांग्रेस बागलुङ सम्पूर्ण दिदीबहीनी दाजुभाइहरुमा हार्दिक अपिल गर्दछ,’विज्ञप्तीमा उल्लेख छ । 

प्रतिक्रिया