नागरिकको गुनासो “निजी विद्यालयमा भर्नाको नाममा मनपरी शुल्क ”

  • असार ३०, २०८२

बागलुङ - बागलुङ नगरपालिका कार्यालयले सोमबार आर्थिक वर्ष २०८१।०८२को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको थियो । कार्यक्रममा सहभागीले नगरपालिकाको सेवा प्रवाहको विषयमा मात्र प्रश्न हैन नगपालिका भित्र संचालन भएका निजी विद्यालयले भर्नाको नाममा मनपरी शुल्क  लिएको प्रति गुनासो पोखे र यसको अनुगमन गर्ने निकाय कुन हो भनेर प्रश्न नै गरे । 
कार्यक्रममा सहभागी धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु सचिव सचिन हरिजनले नगरपालिका भित्र संचालन गरेका निजी विद्यालयले भर्नाको नाममा हरेक वर्ष मनपरी शुल्क उठाउँदै आएको हुँदा यसलाई तत्काल सम्बन्धित निकायले नियमन गर्नुपर्ने  सुझाव दिए । उनले नगरप्रमुख र नगरशिक्षा अधिकारीलाई लक्षित गर्दै प्रश्न गरे,–‘बागलुङ नगरपालिकाद्वारा प्रकाशित “नगर शिक्षा नियमावली २०७७“ को परिच्छेद–७ प्रारम्भिक बाल शिक्षा सम्बन्धि व्यवस्थाको दफा ४७ भर्ना सम्बन्धि व्यवस्थाको उपनियम ३ अन्तर्गत “विद्यालयको एक तहमा भर्ना भएको विद्यार्थीले सोही विद्यालयको माथिल्लो कक्षामा पुनः भर्ना गर्नु पर्ने छैन भनी स्पष्ट कानुनी प्रावधान राखिएको छ । यसमा नगरपालिका भित्र कम्पनी ऐन अन्तर्गत संचालित निजी विद्यालयहरुले नगर शिक्षा ऐनको पालना नगरी गैरकानुनी हिसाबले हरेक कक्षामा नयाँ भर्ना सुरु हुँदा पुन भर्ना बापतको शुल्क लिएका छन । यो कानुन सम्वत छैन यसको अनुगमन गरी तत्काल नयाँ भर्ना बापत लिएको रकम फिर्ता गर्ने वातावरण बनाउनुप¥यो ।’ हरिजनले निजी विद्यालयले विद्यार्थी उपस्थित नहुँदा अनुपस्थित शुल्क र अन्तिम परिक्षा सकिएको २ महिना पछि पनि प्रयोगशाला शुल्क लिएको समेत पाईएको बताए । यस प्रश्नमा नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नगरशिक्षा नियमावली भन्दा बाहिर गएर विद्यार्थीहरुबाट शुल्क उठाउन कसैलाई पनि छुट नभएको र निजी विद्यालयमा तत्काल अनुगमन गर्ने बताए । 
नेपाल पत्रकार महासंघ बागलुङले सहजीकरण गरेको  कार्यक्रममा विद्यार्थी नेता विशेष पराजुलीले पनि अहिलेको शिक्षालाई सुधार गर्न आवश्यक रहेको बताए । उनले पनि अहिले विद्यालय तहमा राम्रो नतिजा ल्याउने होटबाजीमा विद्यार्थीलाई चिट चोर्न सिकाउनु नै भविश्यमा भ्रष्टचार गर्न सिकाएको दाबी गरे ।  उनले एसईईमा चिट चोराउने र सामाजिक सञ्जालमा आफ्ना विद्यार्थीले पास भए भन्दै भर्ना अभियान संचालन गरेको भन्दै निजी विद्यालयलाई कटाक्ष गरे ।  
यसका साथै मेघराज पन्तले योजना फरफारक गर्दा केही झण्झट व्यहोर्नुपरेको गुनासो गरेका थिए भने राजन शर्माले फर्निचर व्यवसायीले भोग्नुपरेको समस्या राखेका थिए । 
कार्यक्रममा महेन्द्र आचार्यले माझीवस्तीमा खानेपानीको समस्या, संस्कार गौतमले बालमैत्री स्थानिय शासन प्रभावकारीको विषय राखेका थिए । 
कार्यक्रममा गोविन्द प्रसाद कंडेल, ,भोलानाथ आचार्य  बिरोश क्षेत्री, मनिषा कडेल तेजबहादुर कुवर , निर्मल श्रेष्ठ ,थानेश्वर सुवेदी र अखिलनाथ शर्मा लगायतले आफ्ना गुनासो र प्रश्न राखेका थिए । 
सहभागीले बा.न.पा १०  दब्ल्याङको पहिरोको समस्या कहिले समाधना हुन्छ,  बागलुङको धौलागिरी प्रादेशिक अस्पतालमा बालमैत्रीको अनुभुति भएन, सहकारीमा नियगमन गर्ने निकाय चुप बस्दा सहकारी बिग्रने गरेको र आगामि दिनमा नियमन गर्नुपर्ने । कुकुर होस्टल कहिले बन्छ त्यसमा सार्वजनिक र व्यक्तिगत जग्गा गाजिएको छ । अटोरिक्साले आफुखुसि भाडा लिने गरेका छन र भाडा निर्धारण गरेता पनि कागजमा मात्रै सिमित भएको छ । बिद्युतको समस्याले गर्दा सवै क्षेत्रमा समस्या भएको । खानेपानी कहिले सम्म घरघरमा  पुग्छ जस्ता प्रश्न र गुनासो राखेका थिए । त्यसैगरी जिल्ला प्रशासन कार्यालयबाट, नगरखानेपानी तथा उपभोक्ता समितिबाट र धौलागिरी अस्पतालबाट प्रदान गरिने सेवा प्रवाहको विषयमा पनि नागरिकले प्रश्न गरेका थिए । 
धौलागिरी अस्पतालको बारेमा अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले, जिल्ला प्रशासन कार्यालयको बारेमा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र नगरखानेपानीको विषयमा कार्यबहाक अध्यक्ष हरिबहादुर जि.सी सन्तोषले नागरिकको प्रश्नको जवाफ दिएका थिए । 
बागलुङ नगरपालिका लक्षित नागरिकको प्रश्नको जवाफ दिँदै नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नगरपालिकाले हरेक क्षेत्रको समस्या समाधनका निम्ती हरपल प्रयास गरेको बताए । उनले कुकुर होस्टल निर्माणको काम केही महिनामा पूर्णता पाउने बजार क्षेत्रको सडकपेटी निर्माणको काम क्रमबद्ध रुपमा सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । साथै नगरप्रमुख श्रेष्ठले केही दिन पहिले चर्चामा रहेको नगरपालिकाको बेरुजुका विषयमा पनि थप प्रष्ट पारेका थिए । कार्यक्रममा नगरउप्रमुख राजु खड्काले नगरपालिकाका विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउन नियमित अनुगमन गरिएको बताए । 
 प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेलले नगरपालिकाले गरेका कामको बारेमा प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको टिप्पणी पत्रकार महासंघ  बागलुङका सदस्य एवं कान्तिपुर दैनिकका उपसम्पादक प्रकाश बरालले गरेका थिए । 
कार्यक्रममा आम नागरिकहरुसँग गरिएको नागरिक सर्वेक्षणको प्रतिवेदन पत्रकार महासंघका सचिव नारायण रिजालले प्रस्तुत गरेका थिए भने कार्यक्रमको आचार संहिता महासंघका सदस्य अर्जुन कार्कीले प्रस्तुत गरेका थिए । 
कार्यक्रम नगरप्रमुख श्रेष्ठको अध्यक्षता र पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्तको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया