बागलुङ- नेपाल कम्युनिष्ट पार्टी एकीककृत समाजवादी बागलुङले नेकपा एस सिंगो पाटी नै एमालेमा गएको भन्ने कुरा हल्ला भएको बताएका छन । शनिबार बागलुङमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जिल्ला कमिटीले पार्टी एमालेमा गाभिएको भन्ने कुरा हल्ला भएको जनाएको छ । केही व्यक्तिले पार्टीको जिम्मेवारी पूरा गर्न नसकी पार्टी छोडेर एमालेमा गए पनि आफ्नो पार्टी नगाभिएको जिल्ला सचिव शालिकराम शर्माले बताए । केही दिन अगाडि नेकपा एमाले प्रवेश गरेको तत्कालिन केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा, जिल्ला अध्यक्ष लालबहादुर थापा, प्रदेश सदस्य भुपाल चालिसे, जिल्ला उपाध्यक्ष केशर छन्त्याल र सचिव भरत पुरी लगायतले आफ्नो जिम्मेवारीबाट भागेर एमालेमा प्रवेश गरेको नेकपा एस बागलुङले जनाएको छ ।
पार्टीको जिम्मेवारी छोडेर जाँदै गर्दा लगेको पार्टीको सम्पूर्ण सम्पत्ती फिर्ता गर्न समेत नेकपा एस बागलुङले आग्रह गरेको छ । ‘उहाँहरुले माईन्युट नै हस्तान्तरण गरेर पार्टी गाभिएको भनिए पनि त्यस्तो होईन, पार्टीको दस्तावेज सहितको माईन्युट हामीसंगै छ,’नवनिर्वाचित नेकपा एस बागलुङका सचिव शर्माले भने,‘उहाँहरुरुले माइन्युट भनेर कुन्नी के हस्तान्तरण गर्नुभयो हामीलाई थाहा छैन ।’ पार्टीमा रहेको पाँच छ लाख आर्थिक कोष र कार्यालयमा रहेका अन्य भौतिक सम्पत्ती केही दिन अगाडि मात्रै लगेर गएकाले त्यसलाई फिर्ता गर्न आग्रह गदैै फिर्ता नगरे कानुनी प्रक्रियामा जाने बताए ।
‘पार्टीको सम्पत्ती व्यक्तिको हुँदैन, उहाँहरुले व्यक्तिगत सम्पत्ती जस्तो लगेर जानुभएको छ,’उनले भने,‘सबै उहाँहरुले हाली मुहाली गर्नुभएको थियो, सबै कुरा त हामीलाई थाहा छैन । थाहा भएका कुराहरुको लिष्ट बनाएर हामीले उहाँहरुलाई पत्राचार गर्दैछौं ।’ पार्टी स्थापनाकालदेखिको माईन्युट आफुहरुकै साथमा रहेको उनले जानकारी गराए । बैठकले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङको अध्यक्षमा पिंगलराज चयन गरेको छ । जिल्ला अध्यक्ष लाल बहादुर थापा एमालेमा प्रवेश गरेपछि गौतमलाई तत्कालै केन्द्रिय कार्यसमितिले संयोजक तोकेका थियो । शनिबार बसेको नवौ जिल्ला कमिटिको पूर्ण बैठकले पार्टीको हित विरित लाग्ने जिल्ला अध्यक्ष सहित सात जनालाई कार्वाही गर्दै गौतमलाई जिल्ला अध्यक्षमा चयन गरेको छ ।
केन्द्रीय महासचिव घनश्याम भुषालले संयोजक तोकेर पठाएका गौतमलाई जिल्ला समितिले अध्यक्ष तोकेको हो । जिल्ला कमिटि बैठकले पदाधीकारिमा समेत हेरफेर गरेको छ । जिल्ला समितिको उपाध्यक्षमा बेदप्रसाद शर्मा, सचिवमा शालिकराम शर्मालाई चयन गरेको छ । यस्तै उपसचिवमा चक्रबहादुर थापा र हरिबहादुर घर्तीमगरलाई चयन गरिएको छ । नेकपा एसका सचिव शालिकराम शर्माले राजनीतिमा पार्टी परिवर्तन गर्न छुट भएपनि बेइमानी गर्न नपाइने बताए । ५१ सदस्यीय कार्यसमितिमा १०÷११ जना मात्रै एमाले प्रवेश गरेको उनले बताए । बैठकले पार्टी हित विपरित काम गरेको भन्दै पूर्व अध्यक्ष लालबहादुर थापा, उपाध्यक्ष केशर छन्त्याल र सचिव भरत पुरीसहित ७ जनालाई कारवाही समेत गरेको छ ।
कारवाहीमा पर्नेमा तत्कालिन अध्यक्ष लालबहादुर थापा, उपाध्यक्ष केशर छन्त्याल, सचिव भरत पुरी, सदस्यहरु जीवन आचार्य, श्याम पुन, प्रेम थापा, खगेन्द्र शर्मा लगायत छन् । पार्टी समायोजन भयो भनेर नेकपा एमालेमामा बुझाएको माइनट नक्कली भएको बताउदै नेकपा एसमा जिल्ला सचिव शालिकराम शर्माले पार्टी स्थापना कालदेखिको माइनट पत्रकार सम्मेलनमै देखाए । पार्टी छोडेर जानेले पार्टीको नाममा भएको पाँच लाखको हिसाब बुझाउन आग्रह गरे । फर्निचर, प्रिन्टर लगायतका उपकरण नबुझाएर लगेको नेकपा एस बागलुङले दाबी गरेको छ ।
कार्यक्रममा नेकपा एसका केन्द्रीय सचिव श्रीनाथ बरालले पदको चरम आकांक्षाले केही व्यक्तिहरुले पार्टी छोड्दैमा बागलुङमा नेकपा एस कमजोर नभएको बताए । ‘उहाँहरुमा पदको आकांक्षा जाग्यो र पार्टी छाडेर जानुभयो,’उनले भने,‘हामी यो पार्टी निर्माणको महाअभियानमा छौं । यो पार्टी सही व्यक्तिको हातमा छ ।’ नेकपा एस बागलुङका नवनिर्वाचित अध्यक्ष पिङ्गलराज गौतमले केही व्यक्तिहरु पार्टी सम्हाल्न नसकेर गएकाले आफुहरु पार्टी बनाउनतर्फ केन्द्रीय रहने बताए ।