रहेनन् 'गोविन्द बा'

  • असार १६, २०८२

बागलुङ - प्रतिनिधि सभाका पूर्व सदस्य गोविन्द प्रसाद शर्मा कँडेलको आइतबार बिहान निधन भएको छ ।  बागलुङको काठेखेला गाउँपालिका– ५ निवासी कंडेल चितवनस्थित छोरीको घरबाट स्वास्थ्य परिक्षणका निम्ती काठमाण्डौं जाने तयारी गर्दै गर्दा निधन भएको परिवारले जनाएको छ ।  
नेपाली काँग्रेसका पूर्व पार्टी सभापति समेत रहेका कंडेल २०४८ सालको संसदिय निर्वाचनमा बागलुङ क्षेत्र नं. १ बाट निर्वाचित भएर प्रतिनिधि सभा सांसद भएका थिए । 
कंडेल प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र इमान्दार नेताका रुपमा परिचित छन् । बहुदलीय व्यवस्था प्राप्तिको आन्दोलनमा निरन्तर क्रियाशील कँडेल २०३६ देखि २०४६ सालसम्म नेपाली कांग्रेस बागलुङका सभापती भएर पार्टीको नेतृत्व समालेका थिए  ।   कँडेल २०४६ सालको आन्दोलनका क्रममा अहिलेका राष्ट्रपती रामचन्द्र पौडेल सँगै जेल जिवन विताएको नेपाली काँग्रेसका महाविधेशन प्रतिनिधि जगदिशचन्द्र उपाध्यायले जानकारी दिए । 
वि.सं. १९९५ साल पुस १४ गते जन्मिएका कडेलले वि.सं. २०१० सालमा जननायक बी.पी. कोइरालाबाट पार्टी सदस्यता लिएका थिए । त्यसयता उनले लामो समयसम्म नेपाली कांग्रेसको संगठन विस्तार तथा लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए । वि.सं. २०१६ सालमा नेपाली कांग्रेसको साप्ताहिक पत्रिका निकाल्दै गर्दा पक्राऊ परेका कँडेल वि.सं. २०१९ सालमा निरंकुश पार्टीविहीन व्यवस्थाविरुद्ध आन्दोलनका क्रममा पाल्पामा जेलसमेत परेका थिए ।
 कँडेलको सव आइतवार नै जन्मस्थल बिहुँ ल्याईएको छ ।  कंडेलको सोमबार विहान १० बजे  नेपाली काँग्रेस बागलुङले बागलुङमा निर्माणाधिन अवस्थामा रहेको विपी स्मृति भवन आगाडीका नारायण चौतारीमा अन्तिम श्रद्धान्जलीको कार्यक्रम राखेको काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए । कंडेलको धर्मपत्नी विष्णुदेवी कंडेलको डेढ वर्ष पहिले निधन भएको छ भने उनका २ छोरा र एक छोरी रहेका छन । 
शर्माको निधनप्रति नेपाली काँग्रेस केन्द्रीय कार्यालय र जिल्ला कार्यालयले शोक बक्तव्य जारी गरेको छ । 
कांग्रेसले विज्ञप्तिमा कँडेलको योगदानको स्मरण गर्दै लेखेको छ, “उहाँको निधनले नेपाली कांग्रेसले एक अग्रज, अनुशासित, निष्ठावान र अनुभवी राजनीतिज्ञ गुमाएको छ।”
शोक वक्तव्यमा नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै कण्डेलको निधन पार्टीका लागि अपूरणीय क्षति भएको बताएका छन्।  देउवाको भनाइ उदृत गर्दै वक्तव्यमा उल्लेख छ,“नेपाली कांग्रेस बागलुङका पूर्व सभापति, पूर्व सांसद एवं नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा नेता गोविन्दप्रसाद कँडेलको निधनले मलाई अत्यन्त दुखित बनाएको छ। उहाँको योगदान सदैव स्मरणीय रहनेछ।”

 

प्रतिक्रिया