बागलुङ- गलकोट नगरपालिका—१० पाण्डवाखानीका विष्णु काउचा मगर पेशाले उनि ट्याक्सी व्यवसायी हुन । उनको आफ्नै ट्याक्सी छ आफै चलाउँछन । ट्याक्सी चलाएरै जिविका चलाएका विष्णु परोपकारी काममा पनि सक्रिय छन । उनलले हप्ताको एक दिन विरामीका लागि समय छुट्याएका छन् । हप्ताको ६ दिन अन्य यात्रुहरु आसोरपसार गर्ने काउचा प्रत्येक हप्ताको सोमबार भने विरामीका लागि समय छुट्याएका छन । काउचाले गलकोटमा रहेको नगर अस्पतालमा उपाचारका लागि जाने विरामीलाई पुर्याउने र छाड्ने काम गर्छन । अस्पतालमा पछिल्लो समयमा दिएको सेवाबाट प्रभावित बनेर गलकोट क्षेत्रका आम सर्वसाधारणले सहज सेवा पाउन भन्ने उद्देश्यले निशुल्क सेवाको थालनी गरेको बताए ।
‘म ट्याक्सी चालक हुँ, विरामी लगेर अस्पताल जाँदै गर्दा त्यहाँका डाक्टरहरुले विरामीलाई गर्ने सम्मानजनक व्यवहार र नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानीप्रति अत्यन्तै प्रभावित छु,’ उनले भने, ‘समाजसेवा गर्न धेरै टाढा जानुपर्दैन भन्ने भावना मनमा जाग्यो र यो निर्णय लिएँ ।’
उनका अनुसार हप्ताको सोमबार बिहानदेखि बेलुकीसम्म हटिया बजारदेखि हरिचौरसम्म र हरिचौरदेखि हटिया बजारसम्म बिरामीका लागि निःशुल्क ट्याक्सी सञ्चालन हुनेछ ।
‘म पूर्ण रूपमा व्यवसायिक ट्याक्सी चालक हुँ, मेरो रोजीरोटी र आम्दानीको स्रोत यहीँ व्यवसाय हो, मेराे परिवार यसमा नै आश्रित छन्,’ उनले भने, ‘नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानी, व्यवस्थापन र अस्पतालको सेवा सुविधाप्रति अत्यन्तै प्रभावित भएर यो निर्णय लिएको हुँ ।’
आर्थिक अभावका कारण कुनै विरामीले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले हप्ताको सोमबार महिनाको ४ दिन निःशुल्क ट्याक्सी सेवा शुरु गरेको उनले सुनाए ।
‘सामाजिक भावनाले ओतप्रोत भै स्वास्थ्य क्षेत्रमा थोरै भएपनि सकेको सहयोग पुगोस् भनेर आज (सोमबार) हटिया जीपपार्कदेखि गलकोट नगरअस्पतालसम्म जान आउनको लागि विरामीलाई निशुल्क ट्याक्सी सेवा दिने प्रण गरेको छु,’ उनले भने ।
उनले कोही विरामी भएर अस्पताल जानु परे मोबाइल नम्बर ९८५७६८५००० मा सम्पर्क गर्न अनुरोध समेत गरेका छन् । हाल हटिया बजारदेखि हरिचौरसम्म पुग्ने ट्याक्सीले प्रतिव्यक्ति १ सय ५० र जीपले एक सय रुपैयाँ भाडा लिन्छन् ।
हरिचौरमा १५ शैय्याकाे नगर अस्पताल निर्माण भएपछि दैनिक दुई सय जना विरामीले सेवा लिइरहेको अस्पतालका प्रमुख डा. राजेश पौडेलले जानकारी दिए । उनका अनुसार गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिका क्षेत्र आसपासका विरामीहरुले सेवा लिइरहेका छन् । हाल २७ जना कर्मचारी रहेको नगरअस्पतालमा दन्त , ओपीडी र प्रसुति लगायतका सेवाहरु उपलब्ध छन् ।
अहिले गलकोटको हरिचौरमा आँखा उपचार केन्द्र, दन्त सेवा, ओपिडीलगायतका सेवाहरु सञ्चालन भएपछि धेरै मानिसहरु उपचारका लागि काठमाडौं, पोखरा, बुटवल जान छाडेको अस्पताल व्यवस्थापन समितिका सदस्य योगेश भण्डारीको बताए । विष्णुले जस्तै अन्य व्यवसायीको पनि यस्तै सोच पलाए गरिव तथा विपन्नलाई अस्पताल सम्म पुग्नका लागि सहज हुने थियो ।