बडा दशैंको पहिलो दिन बागलुङ कालिकामा भक्तजनको घुँईचो

  • असोज २८, २०८०

बागलुङ - आज घटस्थापना। बडा दशैंको पहिलो दिन । नेपालकै ऐतिहासिक धार्मिक शक्तिपिठको रुपमा रहको बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुँईचो लागेको छ । आईतबार विहानै मन्दिरमा सयौं भक्तजनको भीड लागेको थियो । बडा दशैंको नवदुर्गा र चैत्राष्टमीको समयमा पुजाआजा गर्नका निम्ती देशका विभिन्न स्थानबाट भक्तजनको ओइरो लाग्ने गर्छ । घटस्थापनाको दिनपनि बिहान ४ बजेदेखिनै भक्तजन पुगेर लामबद्ध भइ पूजा गरेका थिए । दशैभर भक्तजनको भीड लाग्ने गरेको कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
 सोह्र श्राद्ध सकेर मुक्तिनाथबाट फर्कने भक्तजनपनि कालीका दर्शन गरेर मात्र घरघरमा लाग्ने गर्छन् । बागलुङ कालीका प्रति धेरै भक्तजनको आस्था र विश्वास छ । ‘टाढा देखि धेरै मानिस आउ“छन्, हामीपनि पोखराबाट दर्शन गर्न आयौं’ काठमाण्डौ घर भइ पोखरामा रोजगारीमा बसेका राम श्रेष्ठले भने, ‘कालीका प्रति धेरैनै विश्वास छ ।’ समय समयमा छिमेकीहरु कालिका मन्दिर आएकोले आ“फू पनि आएको उनले बताए ।
पूजा र बली व्यवस्थापन गर्दै सरसफाई गरिएकोले कालिका मन्दिर चिटिक्क देखिएको छ । यहाँका पुराना सत्तल भत्काएर नयाँ बनाइएको छ भने सरसफाइ र फराकिलो बनाएपछि भक्तजनलाई सहज भएको छ । घटस्थापना देखि शुरु हुने विशेष पूजा कोजाग्रत पूर्णिमा सम्म चल्ने खड्काले बताए । 
पोखरा बागलुङ सडक देखि ७ सय मीटर भित्र जंगलमा रहेको भन्दिरमा भक्तजनले मन्दिर पुग्दा पनि आनन्द अनुभव गर्छन् । गुठीले पञ्चवर्षे योजना सहित गुरुयोजना बनाएर काम गरिरहेकोले केही बर्षदेखि मन्दिर आउने भक्तजन बढीरहेका छन् । खानेपानी, सार्वजनिक टेलिफोन, सुरक्षाकर्मी लगायतको व्यवस्थापनले भक्तजनले सुरक्षित महसुस गर्न थालेका छन् । घटस्थापनाकै दिन पारेर बागलुङ कालीका सहित शक्ती पिठहरुमा जमरा पनि राखिएको छ । मन्दिरमा विहानै देखी भजकृतन चलिरहेको छ भने भक्तजनहरु नाच्ने र रमाउने पनि गरेका छन । 
 

प्रतिक्रिया