चल्न थाले सार्वजनिक यातायात

  • जेठ २१, २०८२

बागलुङ । यातायात व्यवसायीहरुको आन्दोलन फिर्ता भएपछि आजदेखि सार्वजनिक यातायातका साधन चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ र सेल्फ ड्राइभ सम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरुले आजदेखि सार्वजनिक गाडी चलाउन थालेका हुन् ।


राइडसेयरिङ र सेल्फ ड्राइभ सम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीहरुले गण्डकी प्रदेशमा पाँच दिनदेखि र काठमाडौं उपत्यकासहितका अन्य जिल्लाहरुमा दुई दिनसम्म सार्वजनिक गाडी चलाएका थिएनन् । उनीहरुको सिन्डिकेटलाई साथ दिँदै केन्द्र सरकारका प्रतिनिधिहरुले गण्डकी सरकारले ल्याएको नियमावली स्थगितको प्रक्रिया अघि बढाउने सहमतिमा हस्ताक्षर गरेका थिए ।

तर यातायात व्यवसायीहरुले सोमबार मध्यरातिको सहमति पछि पनि मंगलबार गाडी चलाएका थिएनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार दिउँसो गण्डकी प्रदेश सरकारलाई स्थगित गर्न पत्राचार गरेपछि मंगलबार बेलुकी गण्डकी सरकारले नियमावली एक महिनाका लागि स्थगन गर्ने निर्णय गरेको थियो ।


सोही निर्णयपछि मात्रै बुधबार बिहानैदेखि यातायात व्यवसायीहरुले सार्वजनिक गाडी चलाउन थालेका हुन् । आज बिहानैदेखि काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा सार्वजनिक बस, माइक्रो बस, टेम्पो, ट्याक्सी लगायतका कालो नम्बर प्लेटका सवारी साधन चलिरहेका छन् ।

विगतमा एमाले नेतृत्वकै सरकारले सार्वजनिक यातायातमा अन्त्य गरेको भनिएको सिन्डिकेट अहिले एमालेकै सरकारले व्युँताएपछि सरकारको आलोचना भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय