बागलुङ- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतामा अन्यौलता र निराशाको अन्त्यगर्नका निम्ती एमालेको नेतृत्वमा सरकार निर्माण हुनुपर्ने बताएका छन ।
झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्राको क्रममा नेकपा एमाले बागलुङले सदरमुकाम बागलुङ बजारमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै ओलीले अहिलेको गठनन्धनको सरकारले जनतामा निराशा पैदा गरेको हुँदा यसको अन्य गर्नका निम्ती एमालेको सरकार बन्नुपर्नुमा जोड दिए । अहिलेको गठबन्धन सरकारलाई हुतियाराको संज्ञा दिदैँ ओलीले बढ्दो युवा पलायन, बेरोजगारी, गरिबी, अराजकता, जनतामा अन्योलता, निराशाको अन्त्य गर्न नेकपा एमालेकै सरकार आउनु पर्ने बताएका हुन ।
उनले एमाले सरकारमा हुँदा सुरुवात गरेका विकासका कामको स्मरण गर्दै गठबन्धन सरकारले उक्त कामहरु प्रभावित बनाएको आरोप लगाए ।
तालमेल गरेर सरकारको नेतृत्व गरेको एमालेलाई खुट्टा तान्दा तान्दै असफल बनाएर अहिले सत्ता लिप्तमा मात्र सय व्यथित गरेको बताए । ओली आफैले शिलान्यास गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयार भइसक्दासमेत ‘कम्र्फटेबल’ सरकारले अन्तर्राष्ट्रिय उडानको अनुमति नदिएको बताए । ‘पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माण भयो । विदेशी ऋणमा बनाएको विमानस्थल अहिल सरकारले अनुमती नदिँदा आन्तरिक मात्र गर्न बाध्य भएको छ । यसरी देश कसरी अगाडी बढ्छ । ’
सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने मुल नाराका साथ झुलाघाट–चिवाभन्ज्याङ सम्मृद्धिका लागि संकल्प यात्रा तय गर्नुको मुख्य उद्देश्य जनताको मनोभावना अध्ययन गर्नु र मध्यपहाडी लोकमार्गको सम्भावना खोज्नु रहेको बताउँदै ओलीले जनतामा एमालेले देश बर्बाद हुन दिदैँन भन्ने विश्वास रहेको बताए । उनले जनताको अपेक्षा अनुसार सुखी नेपाली सम्वृद्ध नेपाल बनाउँने संकल्प पुरा गर्न पार्टीको तल्लो तहदेखिनै काम गर्न आव्हन गरे ।
पहाडी क्षेत्रका नागरिकलाई सुखी र समृद्धि बनाउनका लागि बसाइँसराइ रोकी रोजगार सिर्जना गर्नु पर्ने आवश्यक रहेको अध्यक्ष ओलीको भनाई थियो । उनले नेकपा एमालेले गाउँमै रोजगार सिर्जना गरेर बसाइँसराइलाई रोक्ने खाले कार्यक्रम ल्याउने र आफ्नै गाउँमा समृद्धि निर्माण गर्ने योजना बनाएको बताए ।
“यो देशमा विकासको खाका तयार गर्ने पार्टी हो एमाले, एमाले बाहेक अन्य पार्टीमा त्यो भिजन छैन, अहिले हामी जहाँ–जहाँ पुग्छौँ, त्यहाँ–त्यहाँ विकासले गति लिएको छ, विकासको थालनी एमालेले गरेको हो” अध्यक्ष ओलीले भने – “हामी पश्चिम झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धि यात्रामा छौँ, यस बीचमा हामीहरुले धेरै संभावनाको अध्ययन गरेका छौँ, यहाँ नागरिकलाई कसरी विकाससँग जोड्ने ?, यहाँ कसरी समृद्धि ल्याउने भन्ने हामीहरुले योजना बनाउन थालेका छौँ ।”
अध्यक्ष ओलीले देश र राष्ट्रियता बचाउन मिसन ८४ सफल पार्नु पर्ने बताए । मिसन सफल पार्न नेकपा एमालेको एकल बहुमत आउन जरुरी रहेको उनको भनाइ छ ।
ओलीद्वारा कालिका दर्शन
मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रामा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागलुङको प्रशिद्द कालिका भगवती मन्दिरमा विषेश पुजा आजा गरेका छन । मुख्य पुजारीद्वारा ओली दम्पत्तीले कालिका मन्दिरमा विषेश पुजा अर्चना गरेको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
एमाले अध्यक्ष ओली सहित मन्दिर पुगेका उपमहासचिव प्रदीप ज्ञवाली लगायतको टोलीलाई कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का लगायतले ओली लगायतका नेताहरूलाई स्वागत गरेका थिए । मध्य पहाडको समस्या र विकासको सम्भावना खोज्न नेकपा एमालेले मङ्सिर १४ गते झुलाघाटबाट अभियान सुरु गरेको छ यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगिने छ । यात्राको क्रममा बाटोमा पर्ने धार्मिक तथा पर्यटकीय सम्भावना रहेका हरेक स्थानमा छिरेर एमाले अध्यक्ष ओलीले त्यसको बस्तुस्थित बुझ्दै आएका छन ।