ग्रामिण क्षेत्रको स्वास्थ्य सुधारका निम्ती सम्बोधन परियोजना

  • जेठ १७, २०८२

बागलुङ-ग्रामिण क्षेत्रको स्वास्थ्य सुधारका निम्ती सम्बोधन परियोजना संचालनमा ल्याईएको छ । फेयरमेड फाउण्डेसनको सहयोगमा र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनद्वारा संचालित ‘सम्बोधन’ परियोजना कार्यक्रम बागलुङमा संचालनमा आएको हो ।

उक्त परियोजनामार्फत जिल्लाका दशवटै पालिका तहमा उपेक्षित उष्णप्रदेशिय रोग, मातृ तथा नवजात शिसु स्वास्थ्य र अपांगमैत्री विकास कार्यक्रम संचालन हुने बताइएको छ । फाउण्डेसनले शुक्रबार पत्रकार सम्मेलन गरेर जिल्लाका दशवटै पालिका तहमा पुगेर मातृशिशुको क्षेत्रमा विशेष कार्यक्रम संचालन गरिने बताइएको हो ।


यसअघि पनि फेयरमेड फाउण्डेसनको सहयोगमा संचालित ग्रामीण स्वास्थ्य सुधार परियोजनामार्फत जिल्ला भित्रका दुइ दर्जनबढी स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापना गरिएको थियो । त्यस बाहेक ल्याब सेवा, बालबालिका जन्मेपछि न्यानो बनाउने मेसिन, विभिन्न उपकरण दिइएको तथा स्थानीय तहको सहकार्यमा सुत्केरी प्रतिक्षा घर निर्माण गरिएको थियो । ती क्रियाकलापले सुरक्षित सुत्केरी सेवालाई सहज बनाइरहेको फेयरमेडका टिम लिडर गणेश बरुवालले बताए । उनले स्वास्थ्यको क्षेत्रमा भएका कामको जानकारी मात्र नभई समस्या उजागर गर्नमा पनि पत्रकारिताले साथ दिनुपर्ने सुझाए ।

कार्यक्रममा फाउण्डेसनका अध्यक्ष यामप्रसाद कँडेलले शिक्षा, मानवीय विकास, आर्थिक सुधार लगायतको क्षेत्रमा काम गरिरहेकोमा यो पटक मानव स्वास्थ्यको क्षेत्रमा पनि काम थालिएको बताए । यो अभियानले मानव स्वास्थ्यको क्षेत्रमा पनि संस्थालाई चिनाउन सकिएको बताए । संस्थाका अध्यक्ष यामप्रसाद कँडेलको अध्यक्षता, कार्यक्रम व्यवस्थापक ममिता पुनको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा ‘अविरल’ले कार्यक्रमको शुभकामना व्यक्त गरे । कार्यक्रममा अनुगमन तथा मुल्यांकन अधिकृत सुजन पौडेलले घटना कथाबारे जानकारी गराएभने परियोजना संयोजक, विष्णु सुवेदीले संस्थाको कार्यक्रमबारे प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया