बागलुङ - आगामी माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेस बागलुङ प्रतिनिधि सभा क्षेत्र नं.–१ बाट १९ जनाको नाम सिफारिस गरिएको छ । विहिबार बसेको क्षेत्रीय समितिको बैठकबाट प्रत्यक्ष तर्फ १० जना समानुपातीकमा ७ जना र राष्ट्रिय सभामा २ जना आकांक्षीको नाम सिफारिस गरिएको हो । गत मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले विहिबार आकंक्षीलाई आफ्नो उम्मेदवारी दर्ताका लागि आह्रवान गरेको थियो । सोही अनुसार प्रत्यक्षमा समानुपाति र राष्ट्रिय सभाका लागि दर्ता भएका आकंक्षीको नाम सिफारिस गरिएको काँग्रेस क्षेत्र नं. १ का सभापति चण्डी प्रसाद शर्मा पौडेलले जानकारी दिए । काँग्रेस केन्द्रीय समितिको सर्कुलर अनुसार क्षेत्रीय समिति मार्फत प्रत्यक्ष, समानुपातीकमा र राष्ट्रिय सभाका लागि आकंक्षीको नाम सिफारिस गर्नुपर्ने प्रावधान रहेको छ । दर्ता भएको सवैको नामावली जिल्ला कार्यसमिति मार्फत केन्द्रीय समितिमा पठाईने सभापती पौडेलले बताए ।
प्रत्यक्ष तर्फ काँग्रेसका केन्द्रीय सदस्य किरणराज पौडेल, काँग्रेस बागलुङका पूर्व सभापति एवं गण्डकी प्रदेशका पूर्व मन्त्री मणिभद्र शर्मा कंडेल, पूर्व पार्टी सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, काँग्रेस महासमिति सदस्य एवं पूर्व त्रिवी सभापति भिम श्रीष, पूर्व महाधिवेशन प्रतिनिधि एवं नेविसंघका पूर्व उपाध्यक्ष सागर परियार, काँग्रेस बागलुङका पूर्व जिल्ला सदस्य हरि आचार्य, जिल्ला सदस्य जगन्नाथ आचार्य, क्षेत्र नं. १ प्रदेश सभा (ख) का सभापति दलबहादुर श्रीष राना, काँग्रेसका जिल्ला सदस्य एवं नेपाल महिला संघ बागलुङका अध्यक्ष सिता सापकोटा कंडेल र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुजन सापकोटाको नाम सिफारिस गरिएको छ ।
प्रतिनिधि सभाका लागि समानुपातिक तर्फ पूर्व केन्द्रीय सदस्य रत्ना शेरचन, पूर्व जिल्ला सभापति हरिप्रसाद श्रेष्ठ, काँग्रेस महाधिवेशन प्रतिनिधि एवं गण्डकी प्रदेश समितिका सदस्य शकुन्तला शर्मा, महाधिवेशन प्रतिनिधि एवं गण्डकी प्रदेश सदस्य पार्वती आचार्य, काँग्रेस पूर्व जिल्ला सदस्य पदमबहादुर पुन, पूर्व महाधिवेशन प्रतिनिधि एवं नेपाल तरुणदलका केन्द्रीय सदस्य शेरबहादुर विश्वकर्मा पुर्व महाधिवेशन प्रतिनिध र काँग्रेस गण्डकी प्रदेश स्वास्थ्य विभागका सहसंयोजक डा. रामबहादुर केसीको नाम सिफारिस गरिएको छ ।
क्षेत्रीय समितिले राष्ट्रिय सभाको उम्मेदवारका लागि नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिका सदस्य एवं जैमिनी नगरपालिकाका निवर्तमान नगरप्रमुख इन्द्रराज पौडेल र महाधिवेशन प्रतिनिधि विष्णु पौडेल दारीको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति पौडेलले जानकारी दिए । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते आकक्षी सवैको नामावली जिल्ला कार्यसमिति पठाईने उनले बताए । 
जिल्ला कार्यसमितिले आगामी शनिबारको बैठकबाट पार्टीको विधान अनुसार जिल्लाले गर्न मिल्ने काम र आवश्यक राय सल्लाह सहित केन्द्रमा पठाउने तयारी रहेको जिल्ला सचिव हरिहर शर्माले जानकरी दिए । शर्माले अगामी निर्वाचनको उम्मेदवारका लागि दुवै क्षेत्रबाट औपचारिक रुपमा जिल्लामा नामावली आई नसकेको र शुक्रबार सम्म आउने र शनिबार बैठक बसी आवश्यक राय सहित केन्द्रमा पठाउने बताए ।