लोकतान्त्रिक निर्माण व्यवसायी संघ बागलुङको अध्यक्षमा- विमलेश आचार्य

  • जेठ २४, २०८२

देशको भविष्य निर्माण व्यवसायीको हातमा छ : नगरप्रमुख श्रेष्ठ

बागलुङ - नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ बागलुङको अध्यक्षमा विमलेश आचार्य सर्वसम्मत चयन भएका छन् । नेपाली काँग्रेसको सुभेच्छुक संस्थाको रुपमा रहेको संघको शनिबार बागलुङमा सम्पन्न प्रथम अधिवेसनबाट आचार्यको अध्यक्षतामा सर्वसम्मत जिल्ला समिति चयन गरेको हो । संयोजक सुरेश श्रेष्ठ र सदस्यहरु युवराज राजभण्डारी तथा रामराज गुरुङको निर्वाचन समितिले सर्वसम्मत कार्यसमति चयन गरेको थियो । 
समितिको उपाध्यक्षमा ध्रुब खड्का र खुमबहादुर अदै, महासचिवमा नारायण पौडेल, उपमहासचिवमा मनोज खड्का र दिपक पौडेल तथा कोषाध्यक्षमा खिमबहादुर पुन चयन भएका छन् । समितिको सदस्यहरुमा इन्जिनियर रमेश अर्याल, किस्मत केसी, दिपक कँडेल, पृथ्वी सुवेदी, शालीग्राम उपाध्याय र क्षेत्रबहादुर कार्की चयन भएका छन् । 
संघको प्रथम अधिवेसनको उद्घाटन गर्दै बागलुङ नगर प्रमुख एवं नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठले देशको भविष्य निर्माण व्यवसायीको हातमा रहेको बताए । ‘विकास निर्माणका कामहरु गर्ने भएकाले गर्दा समग्र पालिका, जिल्ला र देशकै भविष्य निर्माण व्यवसायीको हातमा रहेको हुन्छ,’उनले भने,‘त्यसकारण पनि निर्माण व्यवसायीले समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्नुपर्छ ।’ उनले निर्माण व्यवसायीले चाहेको खण्डमा समयमै काम गर्न सकिने र निर्माण व्यवसायीको ढिलासुस्तीले समस्या समेत सिर्जना गर्ने गरेको बताए । 
‘मध्यपहाडी लोकमार्गको विषय ठेक्का सम्झौता गर्ने र तोड्ने अवस्थासम्म आएको छ, हाम्रै नगर अस्पतालको काम समय सम्पन्न हुन सकेको छैन, अन्यत्रका अस्पताल सञ्चालन भैसकेके,’श्रेष्ठले भने,‘उच्च अदालतको भवन, विश्व बैंकका सहयोगमा न्यूजिप कार्यक्रम अन्तर्गतको बागलुङ नगरपालिका भित्रका सडक हामीले सोचे भन्दा छिटो निर्माण भएका छन् । निर्माण व्यवसायीले चाहेको खण्डमा समयमै काम सम्पन्न हुन्छन् भन्ने देखिएको छ ।’ नगरप्रमुख श्रेष्ठले स्वस्थ प्रतिस्पर्धाको आधारमा काम गर्न आग्रह गरे । ‘निर्माण व्यवसायीहरुको पनि समस्या होलान्, तपाईहरुले स्वस्थ प्रतिस्पर्धा गरेर निर्माणको काम अगाडि बढाउनुभयो भने सबैका लागि राम्रो हुन्छ । विकास निर्माणको काम पनि गुणस्तीय गर्न सकिन्छ,’उनले भने । 
कार्यक्रममा लोकतान्त्रिक निर्माण व्यवसायी संघका केन्द्रीय सहसंयोजक खिमप्रकाश मल्ल, लोकतान्त्रिक निर्माण व्यवसायी संघका काठमाडौं सहसंयोजक राजेन्द्र पहारी, लोकतान्त्रिक निर्माण व्यवसायी संघ गण्डकी प्रदेश संयोजक सुरेश श्रेष्ठ, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य युवराज राजभण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । निर्माण व्यवसायी संघ बागलुङका संयोजक बिमलेश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रामराज गुरुङले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय