गण्डकीका मुख्यमन्त्री पाण्डेद्धारा राजीनामा

  • चैत २१, २०८०

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  बुधबार विहान  राजीनामा दिएका छन् ।   पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।   फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले भोली २२ गते सम्म संसदमा विश्वासको मत लिनुपर्ने थियो । तर पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् ।  गण्डकीमा निर्णायक देखिएको राप्रपाले तत्काल कुनै पनि दललाई सत्ताकेन्द्रित गतिविधिमा साथ नदिने बताएपछि पाण्डेले राजीनामा दिएका हुन् । गण्डकीमा एमालेका २२, माओवादीका सभामुखसहित ८ जना सांसद् छन् । जुन संख्या सरकार बनाउन पर्याप्त छैन । २ सदस्य रहेको राप्रपाले गठबन्धनलाई साथ नदिंदा बहुमत नपुग्ने र ठूलो दलको हैसियतमा फेरि आफैं मुख्यमन्त्री हुने रणनीति पाण्डेको छ ।   एकीकृत समाजवादी प्रवेश गरेर अहिले फेरि स्वतन्त्र हैसियत मागेका दीपक मनाङेलाई पाण्डेले भौतिक मन्त्री बनाएका थिए ।

प्रतिक्रिया