सर्लाही–४ : गगन र अमरेशबीचको भिडन्तमा जेन–जी उम्मेदवार अमनिशकुमार यादव पनि बलियो

  • फाल्गुण २०, २०८२

सर्लाही - सर्लाही–४ को आगामी निर्वाचनमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंहबीच हुने अनुमान गरिए पनि मैदानमा अर्को रोचक मोड देखिएको छ। यस क्षेत्रका प्रभावशाली स्थानीय नेता तथा ‘किङमेकर’ भनेर चिनिने शिवपुजन यादवका २६ वर्षीय छोरा अमनिशकुमार यादव पनि प्रतिस्पर्धामा बलियाे छन्।
युवापुस्तालाई प्रतिनिधित्व गर्ने जेन–जी उम्मेदवारको रूपमा उनको उपस्थितिले चुनावी समीकरणलाई थप रोचक बनाएको छ।
शिवपुजन यादव लामो समयदेखि यस क्षेत्रको राजनीतिमा प्रभावशाली भूमिका खेल्दै आएका छन्। विभिन्न चुनावमा उनले दिएको समर्थनले उम्मेदवारको जित–हारमा ठूलो प्रभाव पार्ने गरेको भन्दै उनलाई स्थानीय रूपमा ‘किङमेकर’ को रूपमा चिनिन्छ।
स्थानीय तह निर्वाचनको नतिजा हेर्दा पनि सर्लाही–४ अन्तर्गतका धेरै क्षेत्रमा एमालेको राम्रो मत आधार रहेको देखिन्छ। यही आधारलाई टेकेर एमालेले अमनिशकुमार यादवलाई अगाडि सार्ने रणनीति बनाएको बताइन्छ।
यसरी गगन थापा, अमरेशकुमार सिंह र जेन–जी उम्मेदवार अमनिशकुमार यादवबीचको सम्भावित त्रिकोणात्मक प्रतिस्पर्धाले सर्लाही–४ को चुनावलाई देशकै सबैभन्दा चासोको केन्द्र बनाउने संकेत देखिएको छ।

प्रतिक्रिया