बागलुङ- जेसीजको जेसीज सप्ताहअन्तर्गत शनिबार आयोजित बागलुङ जेसीज र नेपाल पत्रकार महासंघ, बागलुङ बीच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा सम्पन्न भएको छ । प्रतियोगितामा पत्रकार महासंघ विजयी भएको छ । रसआवर फुटसल मैदानमा भएको खेलमा पत्रकार महासंघले ६ गोल गर्दा र जेसीज दुई गोलमा चित्त बुझाएको छ । विजयी टिमका खेलाडीलाई बागलुङ जेसीजका पूर्वअध्यक्ष केशव वझा लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिका–२ का वडाध्यक्ष सुरज बोसेलले गरेका थिए । गत बुधबारदेखि सुरु भएको जेसीज सप्ताहको चौँथो दिनमा जेसीज र पत्रकार महासंघ कार्यसमितिबीच फुटसल आयोजना गरिएको सप्ताहका मूल संयोजक प्रेमप्रसाद ढकालले जानकारी दिए । सप्ताहअन्तर्गत बिहीबार ‘सत्यदेवी स्मृति स्लो बाइक रेस’ प्रतियोगिता र शुक्रबार महिलाहरुका लागि भाषणकला तालिम आयोजना गरिएको थियो ।
आइतबार मेयरसँग विद्यार्थी कार्यक्रम, २३ गते धवलागिरि अस्पतालमा स्वस्थ बच्चा प्रतिस्पर्धा र सप्ताहको अन्तिम दिन २४ गते प्रगतिकुमार श्रेष्ठ स्मृति वक्तृत्वकला प्रतियोगिता, पुरस्कार वितरण तथा समापन समारोह हुने जेसीजका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताए । जेसीजले बर्सेनि विविध रचानात्मक कृयाकलापसहित जेसीज सप्ताह आयोजना गर्दै आएको छ ।