बागलुङमा साहित्य मार्फत वीपीको सम्झना 

  • भदौ २५, २०८०

बागलुङ -  नेपाल महिला संघ बागलुङकी जिल्ला अध्यक्ष शकुन्तला शर्माले कविता मार्फत वीपीलाई फेरी आउन आग्रह गरिन् । नेपाली राजनीतिका शिखर व्यक्तित्व वीपी कोईरालाको जन्मजयन्तीका सन्दर्भमा वीपीले निर्माण गरेको पार्टीमा अहिले गुट उपगुट र विभिन्न समस्याहरु देखिएको भन्दै त्यसलाई समाधान गर्न वीपीको पुनर्जन्म आवश्यक रहेको उनको भाव थियो । नेपाली काँग्रेस बागलुङले आईतबार नेपाली राजनीतिका शीर्ष व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको १ सय १० औं जन्म जयन्ती मनाउने सन्दर्भमा आयोजना गरिएको खुला साहित्य विमर्श तथा सिर्जना वाचन कार्यक्रममा स्रष्टाहरुले वीपीको राजनीतिक र साहित्यीक योगदानको चर्चा गरे । नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुङ, नेपाल प्रजातान्त्रिक विचार समाज र नेपाली लेखक सघंले खुल्ला वीपी साहित्य तथा सिर्जना वाचन कार्यक्रमका आयोजना गरी दिवस मनाईएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै् नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष एवं बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले विपीको विचारलाई आत्मसाथ गर्न सके मात्र उनीप्रति सच्चा सम्मान हुने बताए । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा वीपीको विचार सदैव स्मरण योग्य रहेको बताए । ‘वीपी कोइरालाले त्यही बेलामा भन्नुभएको थियो, काँग्रेस सत्तामा पुगेपछि सुकिला मुकिलाहरुको मुठ्ठीमा पर्नेछ र आम कार्यकर्ताले फेरी काँग्रेस जोगाउनका लागि संघर्ष गर्नुपर्नेछ,’ उनले भने,‘अहिले अवस्था त्यस्तै देखिएको छ । पार्टीले सही रुपमा आम नागरिकको सवालमा दृढ भएर अगाडि बढ्नुपर्ने कता कता अलमलिएको हो कि जस्तो देखिन्छ ।’ 
सो अवसरमा वीपीको विचारबारे नेपाली लेखक सघंका अध्यक्ष गणेशप्रसाद शर्माले एक कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा प्राज्ञ प्रेम छोटाले नेपाली साहित्यमा विपीको योगदान महत्वपुर्ण रहेको बताए । ‘भानुभक्तपछि करिब सय वर्षको अवधीमा वीपी जस्तो एउटा विराट व्यक्तित्वको जन्म भएको छ,’ उनले भने,‘वीपीको साहित्यप्रतिको योगदान केहीबेरको चर्चाले सकिन्न ।’ मा दर्जन बढि कवि स्रस्टाले वीपी समर्थित सृजना वाचन गरेका थिए । लेखक तथा साहित्यकार धनराज सापकोटा, मुकेशचन्द्र राजभण्डारी, गुणराज पौडेल, कोपिला कँडेल, खडक थापा, रविना कँडेल, विशेष पराजुली, नारायण खराल लागयतले सृजना वाचन गरेका थिए । सो अवसरमा उदयमान कवियत्री रविना कँडेललाई नगद ५ हजार सहित सम्मान गरिएको थियो ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुका सचिव गण्डकी थापा अधिकारीको अध्यक्षता, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष धनराज सापकोटाको स्वागत र नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
 

प्रतिक्रिया