बागलुङ । जिल्लाका बडिगाड गाउँपालिका– ४ जलजलामा क्षयरोग र एचआईभीको परिक्षण शिविर सम्पन्न भएको छ । बडिगाड गाउँपालिकाको आयोजना र स्वास्थ्य कार्यालय बागलुङको समन्वयमा एचआईभी र अन्य रोगहरुको निगरानी तथा क्षयरोग स्कृनिङ साथै खकार परिक्षण शिविर सम्पन्न भएको थियो । शिविरमा क्षयरोगका संकास्पद विरामीको परिक्षण गर्नुका साथै अन्य स्वास्थ्य सेवा पनि प्रदान गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिए । शिविर शुभारम्भमा बडिगाड गाउँपालिकाका उपप्रमुख भिमसेन वनले गाउँपालिकाको पहिलो प्राथमिकता भनेको स्वास्थ्य र शिक्षामा रहेको हुँदा हरेक नागरिकको स्वास्थ्य प्रति स्थानिय सरकार जवाफदेही बन्ने बताए । शिविरमा खकार नमुना शंकलन तथा परिक्षण सेवा –१६५ जनाको गरिएको थियो । जसमा १ जनामा क्षयरोग पत्ता लागेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । शिविरमा ३ जनाको जिन एक्सपर्ट शंकलन १८० जनाको एचआईभी जाँच, ५६ जनाको मधुमेहका लागि रगत परिक्षण गरिएको थियो । शिविरमा १८६ जना विरामीको स्वास्थ्य जाँच गरी १०३ जना विरामीलाई औषधी वितरण गरिएको घिमिरेले बताए ।
शिविरमा १६ जना गर्भवतीहरुलाई भिडियो एक्स रे सेवा र १४ जनाको गर्भजाँच गरिएको थियो । बडिगाड गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर हरेक महिना मोबाईल स्वास्थ्य सेवा संचालन गर्दै आएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक विपेन्द्र केसीले जानकारी दिए । शिविरमा स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको प्राविधिक टोली सक्रिय रहेको थियो ।