बागलुङ- बैदेशिक रोजगारीमा गएर नेपाल फर्किएका आप्रबासी कामदारहरुले आफ्नो हकहितका लागि सञ्जाल गठन गरेका छन । बागलुङमा संचालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मार्फत सञ्जाल गठन गरेका हुन । बागलुङ नगरपालिकाले संचालन गरेको स्थानिय तहमा आप्रवासी कामदारहरुको सञ्जाल गठन बैठक तथा पैरवी कार्यक्रम पश्चात सञ्जालको गठन गरिएको हो ।
नगरपालिका भित्रका सवै वडामा बैदेशिक रोजगारीबाट फर्किएका आप्रबासीलाई समेटने गरी सञ्जाल गठन गरिएको हो । विदेशमा सिकेका ज्ञान सिपलाई स्वदेशमा नै परिचालन गर्ने वातावरण सिर्जना गर्नका लागि सञ्जालको गठन गरिएको सामी कार्यक्रमका सामाजिक विकास अधिकृत रामचन्द्र गौतमले जानकारी दिए । सञ्जाल मार्फत विदेश जाने युवाहरुलाई सूसुचित गर्ने, ठगी तथा समस्यामा परेका प्रवासी नेपालीलाई न्यायको पहुँचमा पु¥याउने, वैदेशिक रोजगारलाई सुरक्षित व्यवस्थित मर्यादित र उपलब्धी मुलक बनाउन सञ्जाल गठन गरिएको गौतमले जानकारी दिए । सञ्जाल गठन तथा पैरवी कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले विदेशमा सिकेका सिपलाई स्थानियतह सँग समन्वय गरी आफ्नै देशको विकासमा लाग्नका लागि सहभागीलाई आग्रह गरेका थिए । उनले स्वदेशमै केही गर्ने वातावरण सिर्जना गर्न सवै तहले पहल थाल्नुपर्ने बताएका थिए ।
कार्यक्रमको बारेमा नगरपालिकाका अधिकृत आठौं तथा सामी कार्यक्रमका फोकल पर्सन युक्तप्रसाद सुवेदीले जानकारी गराएका थिए । उनले वैदेशिक रोजगारीमा जानै पर्ने भएमा सहि तरिकाले सहि सूचना बुझेर मात्र जानुपर्ने बताए । पैरवी कार्यक्रमको सामी कार्यक्रमका सामाजिक विकास अधिकृत रामचन्द्र गौतम र सूचना तथा परामर्शकर्ता गंगा शर्मा रिजालले सहजीकरण गरेका थिए ।
बैदेशिक रोजगारी बाट फर्किएका बागलुङ नगरपालिका–४ का शिव प्रसाद शर्माको संयोजकत्वमा १५ सदस्यीय सञ्जाल गठन गरिएको छ । सञ्जालको सदस्यहरुमा कपिल जिसी, पुर्ण विक, नन्दलाल शर्मा, सुदर्शन शर्मा, रोशन बहादुर किसान, कृष्ण प्रसाद पौडेल, भरत नेपाली, निर्मला खड्का, नगेन्द्र थापा, दलबहादुर थापा, बलबहादुर विश्वकर्मा, दिपक पौडेल र क्षितिज सार्की रहेका छन । समितिले कामदारको हकहित एवं सामाजिक पुनः एकिकरण कार्यक्रम संचालनका निम्ती पहल थाल्नका निम्ती बागलुङ नगरपालिकालाई आग्रह गरेको छन। उनिहरुले नगरपालिकाको आगामी बजेट निर्माण गर्दा बैदेशिक रोजगारबाट फर्केका कामदारलाई लक्षित गरी निति कार्यक्रम तथा बजेट समेत आग्रह गरेका छन । सहभागीले विदेशमा समस्या पर्दा स्वदेशमा सुनिदिने निकाय जिल्लामै भएकोमा खुसी व्यक्त गरेका छन ।
जिल्लाको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका र जैमिनी नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम संचालन भएको छ । कार्यक्रम मार्फत वैदेशिक रोजगारी गएर फर्किएका, जान लागेका र समस्यामा परेका नेपाली नागरिकलाई उद्धार तथा सहजीकरण गर्ने कार्यक्रमका सूचना तथा परामर्श कर्ता गंगा शर्मा रिजालले जानकारी दिईन । वैदेशिक रोजगारीलाई व्यवस्थित तथा मर्यादित एवम् शोषणरहित बनाउँदै वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सही सदुपयोग गरी देशभित्रै रोजगारीको अवसरहरू सिर्जना गर्ने तथा आयआर्जनमा वृद्धि गरी भविष्यमा सहज जीविकोपार्जन गर्ने गराउने र सामाजिक रूपमा सम्मानित भएर बाच्ने आधार तयार पार्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।