बागलुङ- जाजरकोट र रुकुममा गएको भूकम्पबाट पीडित नागरिकहरुको उद्धार र उपचारमा सहयोग गर्न जिल्लाको बडिगाड गाँउपालिकाले स्वास्थ्यकर्मी सहित स्वास्थ्य सामाग्री पठाएको छ । भूकम्प पीडितको उद्धार र उपचारमा आफु पनि साथमा रहेको जनाउदै पालिकाले गर्दै कर्णालीको पीडामा बडिगाडले सहयोग गर्ने जनाएको हो ।
बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले भूकम्पमा परि ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेको उपचारको लागि पालिकाको तर्फदेखि पाँच सदस्यीय स्वास्थयकर्मी सहित स्वास्थ्य सामाग्री सम्बन्धीत क्षेत्रमा पठाईएको बताईन् ।
प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने उद्देश्यले बडिगाड गाउँपालिकाले स्वास्थ्य सामग्री सहित स्वास्थ्य शाखाका प्रमुख बिपेन्द्र केसीको नेतृत्वमा टोलि पठाएको प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिए ।
बडिगाडका स्वास्थ्य शाखाका प्रमुख केसी सहित डा.कुन्दन कुमार यादव, जनस्वास्थ्य निरिक्षक डिल बहादुर केसी, हेम पुन र हेल्थ असिस्टेन्ट सुदिप रन्जन यादब सहितको स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोट तर्फ पठाईएको भण्डारीले बताए ।
स्वास्थ्य कर्मिहरुको टोली यथाशक्य छिटो प्रभावित क्षेत्रमा पुगेर घाइतेहरूको उपचारमा सहभागी हुने स्वास्थ्य शाखा प्रमुख केसीले बताए ।