बागलुङ - स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) धवलागिरी बहुमुखी क्याम्पस बागलुङले एक करोडको छात्रबृति कोष स्थापना गर्ने भएको छ । धवलागिरी क्षेत्रकै आंगिक क्याम्पसको रुपमा रहेको यस क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीको हितका लागि छात्रबृति अक्षयकोषको स्थापना गर्न लागिएको हो । आर्थिक अवस्था कमजोर भएका एक सय विद्यार्थीको पठन पाठनमा सहयोग गर्न उद्देश्यले एक करोडको छात्रबृति कोषको स्थापना गर्न लागिएको स्ववियु अध्यक्ष सुदिप सागर कंडेलले जानकारी दिए । कोष स्थापनका निम्ती स्ववियुले शुभ दिपावलीको अवसरमा बागलुङमा देउसी भैलो संचालन गर्ने भएको हो ।
क्याम्पसमा आयोजित पत्रकार भेटघाटको अवसरमा देउसी भैलो र विभिन्न माध्ययमबाट आर्थिक संकलन गरी १ करोडको अक्षय कोष निर्माण गर्ने बताईएको छ ।
क्याम्पसमा अध्ययन गर्नका निम्ती जिल्लाका विभिन्न ठाउँबाट विद्यार्थी आउँछन । सवै तहमा छात्रबृतिका कार्यक्रम छैनन स्ववियु अध्यक्ष कंडेलले भने,‘आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पठन पाठनमा सहयोग पुर्याउने उद्धेश्यले छात्रवृति कोष स्थापना गर्ने योजना अगाडि बढाएका हौं । सो कोषको व्याजबाट वार्षिक १०० जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने हाम्रो लक्ष्य रहेको छ ।
कोष स्थापनाको लागि स्ववियुको तर्फबाट दीपावलीमा देउसी भैलो खेल्ने र बागलुङका १० वटा पालिका जिल्लाका व्यवसायी, कर्मचारी, समाजसेवी, भूतपूर्वविद्यार्थी लगायत सबैसँग समन्वय गरी १ करोड रकम जम्मा गर्ने स्ववियुको तयारी छ ।
क्याम्पस र समुदायबीचको सम्बन्धलाई थप मजभुत बनाउन र उच्च शिक्षा अध्ययन तर्फ विद्यार्थीको आकर्षण बढाउन पनि कोष स्थापना गर्न लागिएको म्याम्पस प्रमुख प्राडा राम प्रसाद उपाध्यायले बताए ।
क्याम्पसमा अहिले केही विद्यार्थीहरुलाई छात्रवृति उपलब्ध गराएका भएपनि त्यो प्रयाप्त नभएकोले अब क्याम्पसमा स्थापना गरिने एक करोड रुपैयाँको कोषले आर्थिक अभावकै कारण पढाई छोड्नु पर्ने बाध्यता अन्त्य गर्ने योजना रहेको उपाध्यायले बताए । कार्यक्रममा पत्रकारहरुले क्याम्पसको अन्य समसमायिक विषयमा जिज्ञासा राखेका थिए ।
क्याम्पसबाट उच्च शिक्षा हासिल गर्दै देश विदेशमा रहेका पूर्वविद्यार्थीले यसमा सहयोग गर्ने क्याम्पसले अपेक्षा गरेको छ।स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) धौलागिरि बहुमुखी क्याम्पसका अध्यक्ष सुदिप सागर कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव अनिल शर्माले गरेका थिए ।