बागलुङ- नेपाल तरुणदल बागलुङले आफ्नो पूर्ण सदस्यता वितरण र वडा केन्द्रीत अधिवेशनलाई तिब्रता बनाएको छ । जिल्लाका दश वटै स्थानिय तहका ८५ वटै वडामा आफ्नो अभियानलाई तिव्रता बनाएको हो । पूर्ण सदस्यता वितरण र वडा तहको अधिवेशन सम्पन्न गर्नका निम्ती तरुणदल बागलुङले जिल्ला तहबाट प्रतिनिधि खटाएको नेपाल तरुणदल बागलुङका अध्यक्ष उमाकान्त शर्मा बाबुले जानकारी दिए । हाल सम्म २० वटा वडामा अधिवेशन सम्पन्न भै सकेको शर्माले बताए । नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा रहेको तरुणदलको आगामी कात्तिक सम्म जिल्ला अधिवेशन गर्ने गरी केन्द्रबाट सर्कुलर भएको छ । वडा तहको अधिवेशनबाट पालिका प्रतिनिधि र जिल्ला प्रतिनिधि पनि चुनिने छन भने जिल्लाले ति प्रतिनिधिलाई अनुमोदनका निम्नी केन्द्रमा पठाउने अध्यक्ष शर्माले जानकारी दिए ।
वडा तहको अधिवेशन र पूर्ण सदस्यता वितरण अभियानले तरुणदलको संगठनलाई झनै चलयमान बनाएको अध्यक्ष शर्माले बताए । ‘धेरै समय पश्चात संगठन विस्तारका काम भै रहेको छ, वडा तहको अधिवेशनले सिगो संगठन नै चलयमान भएको छ, अध्यक्ष शर्माले भने,–‘हाल सम्म जिल्लाका २० वटा वडामा अधिवेशन भै सकेको छ, बाँकी वडाको पनि भदौ मसान्त भित्र सकिने छ, त्यसपश्चात केन्द्रबाट सदस्यता अनुमोदन गरेपश्चात पालिका, प्रदेश, क्षेत्र र जिल्ला तहको अधिवेशन गर्ने तयारीमा छौं । केन्द्रले तोकेको निर्धारित समयमा सवै तहका अधिवेशन सक्ने प्रयास गरेका छौं ।’
शुक्रबार पनि बागलुङ नगरपालिका वडा नं. १३ पैयुँपाटा र वडा नं. १४ को वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनको उद्घाटन गर्दै जिल्ला अध्यक्ष शर्माले पार्टी भित्रका जुन तहमा पनि बर्षौ देखी एउटै व्यक्तिले पद ओगटेर बस्नु नहुने बताए । उनले अब काँग्रेसमा नयाँ पिडीलाई स्थान नदिएमा संगठन बलियो नहुने बताए । शर्माले आफुले पनि नयाँ नेतृत्व आउँछ भने सवै पदहरु त्याग्न तयार रहेको बताए । ‘म यही ठाउँबाट घोषणा गर्छु अबको महाधिवेशनमा म क्षेत्रीय प्रतिनिधि बाहेक माथिल्लो पदमा आउने छैन, नयाँलाई स्थान दिन जरुरी छ, शर्माले भने,–‘यदी काँग्रेसको पार्टी र संगठनलाई बलियो बनाउने हो भने बर्षौ देखी महाधिवेशन प्रतिनिधि भएकालाई फेरी पठाउन जरुरी छैन, अब नयाँलाई जोडौं, त्यसका लागि सवैले त्याग गरौं म पनि त्याग गर्न जरुरी रहेको छ ।’ शर्माले एक पटक लाभको पद वा सोही पदमा निर्वाचित भएकालाई पुन फेरी दोहोराउन जरुरी नरहेको बताए ।
कार्यक्रममा नेपाल तरुणदलका केन्द्रीय सदस्य प्रकाश पौडेल, बानपा १३ का वडा सभापति चन्द्रबहादुर खत्री, नेपाली काँग्रेस गण्डकी प्रदेशका स्वास्थ्य विभागका सहसंयोजक डा. रामबहादुर केसी लगायतले बोलेका थिए । त्यसैगरी नारायणस्थानमा भएको कार्यक्रममा जिल्ला सदस्य नारायणप्रसाद श्रेष्ठले पनि आफ्नो मन्तव्य राखेका थिए ।
अधिवेशनले वानपा १३ को वडा अध्यक्षमा यामबहादुर कुँवर राजु र वानपा १४ को अध्यक्षमा विदोद श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।