पोखरा- इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई कास्की जिल्ला अदालतरले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । नेपाली हाल बागलुङ कारागारमा छन् । पोखरास्थित इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणका मुख्य आरोपी नेपालीलाई न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले थुनामा पठाउने आदेश दिएको हो।
बागलुङ कारागारमा रहेका नेपालीलाई आइतबार पोखरा झिकाएर अदालतले बयान लिएको थियो। आइतबार बयान सकिएसँगै सोमबार भएको थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको अदालतका सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए।
सहकारीको रकम हिनामिना गरेको आरोपमा हरिबहादुर खत्रीसमेत १४ जनाको उजुरीका आधारमा कास्की प्रहरीको छानबिन प्रतिवेदनपछि जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीमा ५७ करोड ३५ लाख ८४ हजार नौ सय रुपैयाँ हिनामिना गरेको भन्दै नेपालीसँगै १५ जनाविरुद्ध अभियोगपत्र दर्ता गरेको थियो।नेपाली हाल बागलुङ जिल्ला अदालतको आदेशपछि बागलुङ जिल्ला कारागारमा छन्।
नेपालीलाई सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालत कास्कीले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । गत बिहीबार न्यायाधीश कृष्णजंग शाहको इजलासले नेपालीलाई २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । तर, उनले धरौटी बुझाएका छैनन् ।