इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली विरुद्ध बचतकर्ताले उजुरी दर्ता गरे

  • जेठ २४, २०८०

बागलुङ- इमेज बचत तथा ऋण सहकारी संस्था लि. बागलुङका बचतकर्ताले सञ्चालक विरुद्ध उजुरी दिन सुरु गरेका छन् । बागलुङ, गलकोट र बुर्तिबाङमा सहकारी सञ्चालन गरी झण्डै दुई अर्ब रुपैयाँ भन्दा बढि ठगी गरेर भागेको भन्दै बचतकर्ताले सहकारीका अध्यक्ष देवकुमार नेपाली विरुद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिन सुरु गरेका हुन् । जेठको पहिलो साताबाटै सहकारीका अध्यक्ष देबुकमार नेपाली फरार भएपछि अलमलमा परेको बचतकर्ताले मंगलबारदेखि आवश्यक कागजात र प्रमाण जुटाएर जिल्ला प्रहरी कार्यालय बागलुङमा जाहेरी दिन थालेका हुन् । 
देवकुमार नेपाली फरार भएदेखि आन्दोलित बचतकर्ताले जिल्ला प्रहरी कार्यालय सार्वजनिक रुपमै उजुरी दिन आह्वान गर्दा पनि उजुरी दिएका थिएनन् । मंगलबारबाट मात्रै इमेज सहकारीका पीडितहरुले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले बताए । ‘सहकारीको विषयमा बाहिर जे जति कुरा भए पनि औपचारिक रुपमा हामीकहाँ मुद्दा परेको थिएन, हामीले सार्वजनिक रुपमै आह्वान गरेका थियौं,’ केसीले भने,‘मंगलरबारदेखि मुद्दा दर्ता प्रक्रिया सुरु भएको छ ।’ 
पहिलो दिन इमेज सहकारी अध्यक्ष देवकुमार नेपाली सहित सहकारीका सञ्चालक विरुद्ध १४ करोड २२ लाख ठगीको बिगो दाबी गर्दै ३७ जनाले मुद्दा दर्ता गरेको उनले बताए । ‘पहिलो दिन ३७ जनाको उजुरी परेको छ, बाँकी पनि आउँदै हुनुहुन्छ होला,’ उनले भने । बचतकर्ताले बचत सम्बन्धि कागजात सहित उजुरी दिएको उनले बताए । जाहेरी दर्ता बल्ल सुरु भएको र जाहेरी संगसंगै अनुसन्धान पक्रिया पनि अगाडि बढाईने अनुसन्धान अधिकृत प्रहरी निरीक्षक दिकबाबु केसी बताउँछन् । ‘यो विषयमा हामीले माथिबाटै अनुन्धानका लागि निर्देशन आएको थियो, उजुरी नभएका कारण हामीले प्रक्रिया थाल्न सकेका थिएनौं,’उनी भन्छन्,‘अब उजुरी परेको छ । हामी प्रक्रिया अगाडि बढाउँछौं ।’ 
सहकारीमा समस्या देखिएपछि अध्यक्ष देवकुमार नेपाली परिवार सहित सम्फर्क बिहीन छन् । उनी सम्पर्क बिहीन भएपछि सहकारी विभागले बागलुङ आएर अनुसन्धान गर्दा तीन ठाउँबाट गरी दुई अर्ब बढि निक्षेप संकलन गरिएको भेट्टाएको थियो । त्यसपछि यो मुद्दाको अनुसन्धान गर्न विभागले सिआईबीलाई अनुरोध गरेका थियो ।
 अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइवि)ले इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली सहित, कार्यवाहक अध्यक्ष डोर बहादुर परियार, सचिव सुनिल नेपाली कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरु चित्र बहादुर भण्डारी, रुपा विक र झग बहादुर शाही विरुद्ध बचतकर्ताहरुको अरबौ रकम अपचलन गरी संगठित ठगी गरेकोले उनीहरु विरुद्ध उजुरी लिन र अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बागलुङलाई जेठ १६ गते पत्राचार नै गरेका थियो ।
 सिआईबीको पत्र प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले डिएसपी मन केसीको कमाण्डमा ९ सदस्यीय अनुसन्धान टोली बनाएर यो मुद्दामा छानबिन अगाडि बढाउन निर्देशन दिएका थिए । यद्यपी बचतकर्ताले आधिकारिक रुपमा उजुरी नदिएका कारण अनुसन्धान प्रक्रिया अगाडि बढ्न सकेको थिएन । प्रहरी आफ्नो तरिकाबाट निगरानी बढाए पनि अनुसन्धानका लागि उजुरी जरुरी रहेको भन्दै प्रहरी विभिन्न माध्यमबाट बचतकर्तालाई उजुरी दिन आग्रह गर्दै आएको थियो । इमेज सहकारीबाट पीडित बागलुङका मात्रै एक हजार बढि व्यक्तिहरु आफुहरुको सम्पर्कमा आएको सबैलाई उजुरी दिन आग्रह गरिएको इमेज सहकारी पीडित संघर्ष समितिका अध्यक्ष दिलबहादुर कार्कीले बताए । 
 २०६९ सालदेखि बागलुङ सदरमुकाममा इमेज सहकारी सञ्चालन हुँदै आएको थियो । अन्य सहकारीको तुलनामा आकर्षक व्याज दिने र चेक साटेर कर्मचारीले घरमै रकम उपलब्ध गराईदिने गरेका कारण धेरैले इमेजमा बचत गर्न थालेका थिए । बागलुङमा इमेजप्रतिको आकर्षण बढेपछि अध्यक्ष नेपालीले बुर्तिबाङ र गलकोटमा पनि इमेज सहकारीको शाखा खोलेका थिए । तरलता अभाव भएको भन्दै गत वैशाख पहिलो साता केही दिन सहकारी बन्द भएपछि समस्या झन् बल्झिदै गएको हो । सहकारीको फितलो नियमन र अनुगमनको फाइदा उठाउदै अध्यक्ष नेपालीले सहकारीको करोडौं रुपैयाँ आफूखुशी घर जग्गालगाएत विभिन्न क्षेत्रमा लगानी गरिरहेका थिए।
 सहकारीको नियम विपरित उनले घर जग्गा धितो राखेर पनि लगानी गरि रहेको देखिन्छ । छोटो समयमा धेरै नाफा कमाउने क्षेत्रमा लगानी गर्दा बचतकर्ताहरुको अरबौ रकम जोखिममा परेको हो ।नेपालीले काठमाडौं, पोखरा, बागलुङ बजार र बुर्तिबाङ बजारमा घर जग्गामा लगानी गरेका थिए। घरजग्गामा लगानी गरेको रकम कारोबारमा मन्दी आएपछि समस्यामा परेको र सहकारीमा तरलताको व्यापक अभाव देखिएपछि अध्यक्ष देवकुमार नेपालीसहित अन्य संचालकहरु जेठ ६ गतेदेखि फरार छन् भने अध्यक्ष नेपाली, श्रीमती छेला नेपाली र सञ्चालक चित्र बहादुर भण्डारीको नाममा रहेको घर जग्गा, सेयर तथा बैंक खाता रोक्का भएको छ ।
 

प्रतिक्रिया