बागलुङ कारागारका कैदीबन्दीमा क्षयरोगको संक्रमण

  • साउन १२, २०८१

बागलुङ - बागलुङ कारागारका ५ जना कैदीबन्दीमा क्षयरोगको संक्रमण भेटिएको छ । तिन दिन पहिले कारागारमा रहेका ३ जना कैदी बन्दीमा स्वास्थ्य समस्या देखिएपछि शंकास्पद देखिएर परिक्षण गर्दा उनिहरुमा क्षयरोगको संक्रमण भेटिएको थियो । कैदीबन्दीमा संक्रमण देखिएपछि स्वास्थ्य कार्यालय बागलुङले कारागारमा नै पुगेर क्षयरोगको परिक्षण गरेको थियो । संक्रमण भएका व्यक्तिको नजिक रहेका अन्य ११ जना कैदीबन्दीमा क्षयरोगको परिक्षण गर्दा थप दुई जनामा क्षयरोग पत्ता लागेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक अधिकृत देवप्रकाश घिमिरेले जानकारी दिए । कार्यालयले कुल १४ जनाको खकार परिक्षण गर्दा ५ जनामा क्षरोगको संक्रमण भेटिएको छ । जसमा फोक्सोको क्षयरोग भएका ३ जना र फोक्सो भन्दा बारिहको क्षयरोग भएका २ जना रहेको घिमिरेले जानकारी दिए । संक्रमित पाँच जना नै पुरुष कैदीबन्दी रहेका छन । 
कारागारमा क्षयरोगको संक्रमण थप फैलिन नदिनका लागि स्वास्थ्य कार्यालय बागलुङ, धौलागिरी अस्पताल र बागलुङ नगरपालिका स्वास्थ्य शाखाले शुक्रबार स्वास्थ्य शिक्षाका कार्यक्रम संचालन गरेको छ । संक्रमिण ५ जनाले क्षयरोगको औषधी खान सुरु गरेको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यले बताए । संक्रमितको औषधी उपचार सुरु गरेपनि उनिहरुको सम्पर्कमा रहेका बाँकी कैदीबन्दीका क्रमश खकार परिक्षण गरिने आचार्यले बताए । ‘कारागार भित्र संक्रमणको दर बढ्न नदिनका लागि स्वास्थ्य कार्यालयले सजगता अपनाउन आग्रह गरेको छ । कैदीबन्दीका लागि स्वास्थ्य शिक्षा पनि प्रदान गरेका छौं आचार्यले भने,—‘नियमित माक्सको प्रयोग गर्न लगाएका छौं, संक्रमितलाई छुट्टै बस्ने स्थानको व्यवस्था पनि गर्न लगाएका छौं । खोक्दा हाँछ्यु गर्दा हावाको माध्ययमबाट क्षयरोग संक्रमण हुने हुँदा सवै कैदीबन्दीलाई सजगता अपनाउन लगाएका छौं ।’ जिल्ला प्रशासन कार्यालय र कारागार कार्यालय सँग समन्वय गरी बाँकी कैदीबन्दीको पनि खकार परिक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । 
कारागारमा हाल १५२ जना पुरुष, १७ जना महिला र २ जना नाबालक गरी कुल १७१ जना रहेका छन । संक्रमित क्षयरोगका विरामीलाई छुट्टै बस्ने व्यवस्थापन मिलाईएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । उनले सवै कैदीबन्दीको खकार परिक्षण गरी अन्यमा पनि संक्रमण भए नभएको पुष्टी गरिने बताए । कारागारका कैदीबन्दीका लागि सामान्य स्वास्थ्य परिक्षणका लागि एक जना स्वास्थ्यकर्मी नियमित खटिएका छन । क्षयरोगका संक्रमित सवै कैदीबन्दीलाई स्वास्थ्यकर्मीकै निगरानीमा प्रत्यक्ष नियमित खुवाईने  छ । नियमित औषधी सेवन गरेमा निको हुने स्वास्थ्यकर्मीहरु बताउँछन । 
 

प्रतिक्रिया