बागलुङ- नेपाल मगर संघ बागलुङले गलत तथ्याङ्क सच्याउन माग गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको जाति धर्म भाषाको तथ्याङ्कमा असहमति जनाउँदै मगर संघले सच्याउन माग गरेको हो ।
आदिवासी जनजाति प्रतिष्ठान ऐन बमोजि सूचिकृत संख्यात्मक रुपमा सबैभन्दा बढि जनसंख्या भएको आदिवासी मगर जाति भित्रको प्रमुख थर मध्ये पुन एक रहेको र यो छुट्टै जाति नभएर मगर समुदाय भित्रकै एक महत्वपूर्ण थर भएकोमा नेपाल सरकारको राष्ट्रिय तथ्याङ्क कार्यालयले लिखित रुपमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि यथोचित परामर्श नगरी मगर जातिलाई फुटाउने दुरासयले पुनलाई छुट्टै जातिको रुपमा उल्लेख गरिएको भन्दै सच्याउन माग गरेको छ । प्रधानमन्त्री मातहतको उच्च निकायले गरेको गम्भीर त्रुटीले हाम्रो समाजमा भौतिक, मानसिक र नैतिक समस्या सिर्जना गरेको छ । सरकारको यस प्रकारको त्रुटीले मिलेर बसेको मगर समुदायमा द्वन्द्वका विजारोपण भएकाले तुरुन्तै सच्याउन माग गर्दछौं,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाल मगर संघ बागलुङका अध्यक्ष श्याम पुनले हस्ताक्षर गरी बुझाएको ज्ञापनपत्रमा इतिहास भूगोल भाषा संस्कृति रहन सहन र पहिचानको हिसाबले पुनहरु मगर जातिभित्रको एक प्रमुख थर भएको हुनाले तीन दिन भित्र पुन जाति भनि सार्वजनिक गरिएको ९८२७ को संख्यालाई तुरुन्तै मगर जातिको संख्यामा गाभ्न निर्देशन दिनुहुन सम्मानीय प्रधानमन्त्री ज्यू समक्ष अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ,‘अन्यथा आफ्नो जातिय पहिचान र अस्तीत्व रक्षाका लागि सशक्त आन्दोलनमा जानुको विकल्प नभएको जानकारी गराउँदछौं ।’