बागलुङलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा

  • माघ ९, २०८१

बागलुङ -जिल्लाको सवैभन्दा पुरानो नगरपालिका बागलुङ नगरपालिकालाई बागलुङ बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ । बुधबार  नेपाल सरकारका उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह नगरलाई बालमैत्री नगरपालिका घोषणा गरेका हुन । घोषणा सभामा बोल्दै उनले अधिकार र दायित्व संगै लिनुपर्ने बताएका छन् । बुधबार गर्दै उपप्रधानमन्त्री सिंहले बालमैत्री घोषणाले बाल अधिकारको रक्षासंगै बालबालिकालाई कर्तव्य र दायित्व पनि सिकाउने विश्वास व्यक्त गरे । 
‘अहिले जहाँतहीं अधिकारको मात्रै कुरा हुन्छ, दायित्व र कर्तव्यको विषयमा कसैले वास्ता गर्दैनन्,’उनले भने,‘सानै उमेरका बालबालिकालाई उनीहरुको अधिकारसंगै दायित्व र कर्तव्यको विषयमा पनि सिकायौं भने यसले भोली देशका लागि आवश्यक पर्ने असल मानवपुँजी निर्माण गर्न सहयोग पुग्छ ।’ समयक्रमसंगै नयाँ नयाँ चूनौतीहरु देखिएकाले त्यसको सामना गर्ने नेतृत्व निर्माणका लागि बालमैत्री शासनले टेवा दिने उनको भनाई छ । 
‘हामीले समयसंगै आउने चूनौतीको सामना गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्नेछ, त्यसका लागि बालमैत्री शासनयुक्त देश बनाउने अभियान ल्याईएको हो,’उनले भने,‘हामीले अन्तर्राष्ट्रिय समुदायसंग गरेको प्रतिवद्धता पूरा गर्ने अभियानमा बागलुङ नगरपालिकाले महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिन चाहान्छु ।’ फरक प्रसंगमा उपप्रधानमन्त्री सिंहले आफ्नो शहरी विकास मन्त्रालय अन्तर्गत बागलुङ नगरपालिका वडा नम्बर १, ४ र ७ मा सञ्चालन भैरहेको विश्व बैंकसंगको सहकार्यको न्यूजिप परियोजना अन्तर्गतको सडक निर्माण नमुना गतिमा अगाडि बढेको उल्लेख गरे ।
 ‘पहिले यो कार्यक्रम सुरु गर्न केही ढिला भयो तर अहिले निकै राम्रोसंग यो कार्यक्रम अगाडि बढेको छ,’उनले भने,‘यो समयमै पूरा हुने विश्वास छ । बलेवामा गणेशमानसिंह मार्गलाई शहरी विकास मन्त्रालय मार्फत निर्माण गर्नेछौं ।’ उनले बागलुङमा हुने हरेक विकास निर्माणका कार्यहरुमा व्यक्तिगत रुपमा आफु र आफ्नो मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने समेत उनले प्रतिवद्धता जनाए ।
 यस अगाडि बुधबार बिहान बागलुङमा भएको पत्रकार भेटघाट कार्यक्रममा सिंहले विकास र स्थीरताका लागि वर्तमान गठबन्धन सरकार बनेको र आगामी निर्वाचनसम्म जाने बताएका थिए । ‘सरकार अस्थीर हुने र नागरिकले दुःख पाईरहने भएका कारण हामीले दुई ठूला दलहरु काँग्रेस एमाले मिलेर स्थीरताका लागि सरकार बनाएका हौं,’उनी भन्छन्,‘सरकार गठन हुँदा गरेका प्रतिवद्धताहरुमा हामी दत्तचित्त भएर काम गर्ने प्रयास गरेका छौं । सरकार तलमाथि हुन्न । सरकार बाहिर हुनेले कुरा त गरिहाल्छन् ।’ 
संविधान संशोधनको विषयमा राजनीतिक दलहरुले पार्टीगत रुपमा समिति बनाएर छलफल सुरु गरेको र सबैसंगको छलफल र सहकार्यमा अगाडि बढाउने बताए । ‘संविधान संशोधनका लागि दुई तिहाई बहुमत आवश्यक पर्छ, त्यसका लागि हामीले पार्टी भित्र छलफल चलाएका छौं, अन्य पार्टीहरुसंग समन्वय र सहकार्य गरेर मात्रै यसलाई अगाडि बढाउँछौं,’उनले भने ।
 एमालेसंग सरकारमा बसेर काम गर्न गाह्रो भएको भनेर काँग्रेसका मन्त्रीहरु सभापति भनेको भनि गलत प्रचार भएको समेत उनले दाबी गरे ।  ‘काँग्रेसका मन्त्रीले सभापतिलाई भनेको भनेर गलत प्रचार भैरहेको छ, गठबन्धन सरकार भएकाले गठबन्धनको मर्म अनुसार नै काम गर्नुपर्छ भन्ने विषयमा छलफल भएको हो, म आफै त्यो बैठकमा सहभागी छु,’उनले भने । 
बालमैत्री शासन ऐन अन्तर्गतका ५१ सूचकहरुमा ९२ प्रतिशत अंक पाएपछि आफुहरुले बालमैत्री नगर घोषणा गर्न सफल भएको बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठ बताउँछन् । ‘बालबचाउ सम्बन्धी १४, बालसंरक्षण सम्बन्धी १०, बाल विकास सम्बन्धी ६, बालसहभागिता सम्बन्धी ६ र संस्थागत विकासका १५ वटा सूचकहरुका काम गरेर प्रदेश सरकारको मुल्याङ्कनमा ८० प्रतिशत अंक प्राप्त गर्दा घोषणा मिल्ने व्यवस्था छ,’उनले भने,‘हामीले ९२ प्रतिशत अंक पाएका छौं । अब हामी यसलाई शतप्रतिशत बनाउने र घोषणालाई दिगोपन दिने कार्यमा लाग्छौं ।’ 
बागलुङ नगरपालिका सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र गौतमले मानवीय पुँजी उत्पादनका लागि बालमैत्री शासनयुक्त नगरपालिका बनाउन लागिपरेको उल्लेख गरे । ‘भौतिक विकास मात्रै विकास होईन, मानवीय पुँजी उत्पादनमा ध्यान दिनुपर्छ भनेर हामीले कार्यपालिकाको पहिलो बैठकबाट निर्णय गरेर अगाडि बढ्यौं,’उनले भने,‘अहिले घोषणाको चरणसम्म आईपुग्दा बालबालिकाको क्षेत्रमा धेरै काम भएका छन् र आगामी कार्यक्रमहरु बालमैत्री बनाउन लागि परेका छौं ।’ 
हरेक निर्णय प्रक्रियामा बालबालिकाको सहभागिता गराउनेगरी बालमैत्री स्थानीय शासनको अवधारणा अनुसार विद्यालय तहबाटै काम सुरु गरेर नगरपालिकालाई बालमैत्री बनाउन सम्भव भएको बागलुङ नगर बालमैत्री फोकल पर्सन धनप्रसाद पोख्रेल बताउँछन् । बालमैत्री शासनयुुक्त नगरपालिका घोषणा हुने बागलुङ नगरपालिका जिल्लामा दोस्रो गण्डकी प्रदेशमा चौथो र देशव्यापी रुपमा पच्चिसौं स्थानीय तह हो । 

May be an image of 8 people and text

प्रतिक्रिया