बागलुङ । बागलुङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । ‘स्थानिय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पुर्णखोप सुनिश्चितता जिल्ला हाम्रो प्रतिवद्धता’ भन्ने नारा सहित सोमबार बागलुङलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।
घोषणा कार्यक्रम सहभागिहरुले खोपको दिगोपना कायम राख्ने प्रतिवद्वता समेत गरेका छन । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक अमर थापाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता र दीगोपना’ घोषणा गरेका हुन् ।
घोषणा कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद विन्दु पोखरेलले बालबालिका कुनै पनि खोपबाट बञ्चित नहुन भन्ने उद्देश्यले हरेक वर्ष सुनिश्चितता र दिगोपनाका निम्ती घोषणा कार्यक्रम गर्ने बताए । उनले सबै बालबालिकाले सबै प्रकारको खोप लगाएको सुनिश्चित भएकाले ‘पूर्ण खोप सुनिश्चितता र दीगोपना’ घोषणा गरिने बताए । अहिले बालबालिका ‘खोज र खोप’ भन्ने नीति अन्तर्गत कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनु पर्ने अवस्था नभएको पाखरेलको भनाई छ ।
जिल्लाका दशवटै स्थानिय तह अन्तरगतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी घरघरमा पुगेर ५ वर्ष सम्मका खोप लगाउन छुट बालबालिकाहरुको खोजी गरी भेटिएका सम्पुर्ण बालबालिकाहरुलाई खोप लगाउने कार्य सम्पन्न भए पश्चात पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताए ।
जिल्लामा जन्मेदेखी १५ महिना भित्रका ४ हजार ६७७ बालबालिकाले पुर्ण खोप पाईरहेका छन भने १५ देखी ४९ महिनाका १० हजार ३१८ बालबालिकाले पुर्ण खोप प्राप्त गरेको स्वास्थ्य कार्यालय प्रमुख शर्माले जानकारी दिए । जिल्लामा सवै भन्दा बढि पूर्णखोप प्राप्त गर्ने बागलुङ नगरपालिकामा १५ महिना भित्रका ६ सय ९३ र १५–५९ महिना भित्रका १ हजार ६ सय ३५ जना बालबालिका रहेका छन । त्यसैगरी जिल्लाको बरेङ गाउँपालिकामा ६४५, ताराखोला गाउँपालिकामा ५५९, गलकोट नगरपालिकामा २ हजार १७४, बडिगाड गाउँपालिकामा १ हजार ६६, ढोरपाटन नगरपालिकामा २ हजार ६३१, काठेखोला गाउँपालिकामा ९८६, तमानखोला गाउँपालिकामा ७३८ निसीखोला गाउँपालिकामा १ हजार ९१७ र जैमिनी नगरपालिकामा १ हजार ५०४ बालबालिकाले पूर्णखोप प्राप्त गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
घोषणा कार्यक्रमा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, जैमिनी नगरपालिकाका नगरप्रमुख नरबहादुर पुन, बाडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पुर्णखोप सुनिश्चिततालाई दिगोपना दिनका निम्ती स्थानिय सरकार सहयोग गर्ने बताएका थिए । कार्यक्रम बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, धौलागिरी अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा. रविरञ्जन प्रधान, धौलागिरी आर्युवेद औषधालयका प्रमुख डा. सरोजकुमार राय लगायतले बोलेका थिए ।
कार्यक्रम जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक अमर थापाको अध्यक्षता समन्वय अधिकारी कृष्णराज गौतमको स्वागत र स्वास्थ्य कार्यालय बागलुङका तथ्याङ्क अधिकृत घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।