बागलुङ । नेपाल प्रेस युनियन बागलुङको ८ औं जिल्ला अधिवेसनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम बुधबार सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा बोल्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं गण्डकी प्रदश सभा सदस्य चम्पादेवी खड्काले निस्पक्ष र जनताको आवाज बुलन्द गर्ने विषयमा पत्रकार चुक्न नहुने बताईन् । ‘पत्रकारलाई राज्यको चौथो अंग भनिएको छ,’ उनले भनिन्,‘राज्यलाई खबरदारी गर्ने र आवाज विहीन जनताको आवाज बनेर अगाडि बढ्नुपर्छ । पत्रकारिता क्षेत्रमा लागेकाहरु त्यसबाट चुक्नु हुँदैन ।’
समाचारमा आउने सानो विषयले पनि आम जनता र व्यक्तिको जीवनमा महत्वपूर्ण अर्थ राख्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने उनको भनाई छ । ‘समाचारमा आउने सानो विषय पनि व्यक्तिको जीवनमा ठूलो अर्थ राख्ने हुन्छ,’उनी भन्छिन्,‘त्यस कारणले गर्दा पनि पत्रकारले सत्यतथ्यको खोजीमा कुनै कन्जुस्याइँ गर्नु हुँदैन ।’ अहिले तीन तहको सरकार भएकाले पत्रकारिता क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकार पनि ध्यान दिनुपर्ने बताईन् । ‘तीन तहको सरकार अहिले कार्यान्वयनमा छन्, पत्रकारको दीगोपना र विकासका लागि ध्यान आवश्यक छ,’ उनले भनिन्,‘म पनि प्रदेश सभाको नियम कानुन बनाउने ठाउँमा छु । हामीले के कस्तो नीति निर्माण गरेर प्रदेशमा सहयोग गर्न सक्छौं त्यस बारेमा पनि छलफल र सरसल्लाह गरौं ।’
नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष एवं बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बागलुङबाट पछिल्ला दिनहरुमा पत्रकारहरु पलायन बढेर गएको चिन्ता व्यक्त गरे । ‘बागलुङबाट होनहार पत्रकाहरुको पलायनको शिलशिला जारी छ, अबका दिनमा पत्रकारहरु टिक्ने अवस्थाको सिर्जना होस् र त्यसका लागि बागलुङ नगरपालिकाले के कति काम गर्न सक्छ हामी तयार छौं,’ उनले भने ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सचिव एवं जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, नेपाली काँग्रेसका बागलुङका पूर्व उपभापति जगदीशचन्द्र उपाध्याय, नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति एवं तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेल, नेपाल महिला संघ केन्द्रीय सदस्य भगवती केसी, निर्वाचन समितिका संयोजक एवं डिएलएका केन्द्रीय उपाध्यक्ष भूमिश्वर शर्मा गौतम लगायतले पत्रकारिताको सही विकासले मात्रै समाजले सही मार्ग दर्शन पाउने बताए ।
नेपाल प्रेस युनियन बागलुङका निवर्तमान अध्यक्ष प्रदिप पन्तको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निर्वतमान सचिव नारायण रिजालले गरेका थिए । कार्यक्रमको समापन गर्दै नवनिर्वाचित अध्यक्ष संगम घर्तीमगरले पत्रकारको क्षमता अभिवृद्धि र पत्रकारिता क्षेत्रको शिरवृद्धिमा काम गर्ने प्रतिवद्धता जनाए ।
गत असारमा भएको २३ औं वार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेशनबाट घर्तीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको थियो । समितिको उपाध्यक्ष सुवास आचार्य, उषा पौडेल, सचिवमा डम्मर बुढा मगर, कोषाध्यक्ष छविलाल पाण्डे, सहसचिवमा नवराज नेपाली चयन भएका छन् । सदस्यहरुमा रामशरण पोखरेल, मञ्जुल शाक्य, भरत सापकोटा, कृष्ण समिर, जितबहादुर क्षेत्री, राजु शर्मा, लिला श्रीस, सुरेश छन्त्याल र चक्रवीर थापा चयन भएका छन् । निर्वाचित समितिलाई निर्वाचन अधिकृत भूमिश्वर गौतमले प्रमाणपत्र वितरण गरेका थिए ।