बागलुङ- बागलुङको बरेङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका र घरमा प्रसुति शुन्य गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकामा असार १२ गतेका दिनसम्म १६ महिना देखि ५९ महिनासम्मका ५ सय ४६ बालबालिकाहरुलाई पूर्ण खोप सुनिश्चित र १ सय ३२ जना गर्ववती महिलाहरुलाई पालिकाको स्वास्थ केन्द्र तथा स्वास्थ केन्द्रको सिफारिसमा अगाडी अस्पताल पठाई सुरक्षित सुत्केरी बनाई गण्डकी प्रदेश कै पहिलो घरमा प्रसुति शुन्य गाउँपालिका घोषणा गरिएको छ ।
गाउँपालिकाको वडा नं.१ धुल्लुबाँस्कोटका ३४ जना, वडा नं.२ हुग्दिशिरका ३८ जना, वडा नं.३ बाटाकाचौरका ३६ जना, वडा नं.४ सल्यानका १४ जना र वडा नं. ५ का १० जना गरि १ सय ३२ जना गर्ववती महिलाहरुको स्वास्थ केन्द्र र अस्पतालमा सुरक्षित प्रसुति गराईएको छ ।
यसै गरि बालवालिकालाई विसिजी, डिपिटी, हेब्बी, एफआईविवि, पोलियो, दादुरा, जेई, टाईफाईडलगायत बाह्र प्रकारका खोप लगाएको कारण गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा सहित वडा अध्यक्ष, गाउँ कार्यपालिका सदस्य, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर राना लगायत स्वास्थ्यकर्मीहरु, पत्रकारको उपस्थितीमा यस कार्यलाई निरन्तरता दिने प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको छ ।
सोह्र महिनादेखि ५९ महिनासम्मका ५ सय ४६ जना बालबालिका पालिकामा रहेकोमा ती सवै बालवालिकाले तोकिएका बाह्र प्रकारका खोप लगाउने कार्य पूरा भएपछि वडालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले नेपाल सरकारको स्वास्थ्य क्षेत्रको प्राथमिकता प्राप्त कार्यक्रमको रूपमा रहेको पूर्ण खोप सुनिश्चित गाउँपालिका र घरमा प्रसुति शुन्य स्थानीय तह घोषणा कार्यक्रमलाई घोषणामा मात्र सिमित नराखी यसको दिगोपना सुनिश्चितताका लागि गाउँपालिका स्वास्थ क्षेत्रमा कुनै पनि प्रकारको सहयोगको लागि पछि नपर्ने बताएका छन् ।
अध्यक्ष शर्माले ‘बरेङको रहर, शून्य मातृशिशु मृत्युदर’ कार्यक्रम अन्तर्गत व्यवस्था गरिएको आमा प्रतिक्षा घर कार्यक्रम बमोजिम गाउँपालिकाद्वारा सञ्चालन गरिएका बर्थिङ सेन्टरहरूमा प्रसूति सेवा लिने आमाहरू र निजका सहयोगीहरूका लागि निस्शुल्क खाने बस्ने व्यवस्था गरिएको, जस अन्तरगत यस आर्थिक वर्षमा सो सुविधा प्राप्त गरेको पनि बताएका छन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाले पूर्ण खोप सुनिश्चित गाउँपालिका र घरमा प्रसुति शुन्य गाउँपालिका घोषणाको लागि आ आफ्नो क्षेत्रमा गरेको योगदानको कदर गर्दै वडाका स्वास्थ चौकी ईन्चार्जहरुलाई दिगोपन दिनको लागि सम्पूर्ण स्वास्थकर्मीहरुलाई आग्रह गरेका थिए भने ५ वटै वडाका वडा ईन्चार्जहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रम गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाको स्वागत र गाउँपालिका स्वास्थ शाखा प्रमुख पदम बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।