बागलुङ – नेपाल कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसमा नेकपा एमाले बागलुङले वृत्तचित्र प्रदर्शन गरेको छ । बुधबार विहान जिल्लामा सक्रिया नेत तथा कार्यकर्तालाई “नेपाल कम्युनिष्ट पार्टी स्थापनामा पुष्पलालको पृष्ठभूमि र योगदान” विषयक वृत्तचित्र देखाईएको हो ।
वृत्तचित्रमा पुष्पलालको जीवनी देखी उनले राजनितिक जिवनमा समेटिएका संघर्षहरु प्रस्तुत गरिएका थिए । यसका साथै उनले हासिँल गरेको शिक्षा, वैचारिक जागरण, राजनीतिक जीवनको आरम्भ, पार्टी स्थापनाको उद्देश्य र प्रक्रिया, कठिन संघर्ष तथा नेपालको कम्युनिष्ट आन्दोलनको आधार निर्माणमा पुष्पलालले पु¥याएको योगदानलाई विस्तृत रूपमा चित्रण गरिएको थियो ।
कार्यक्रममा सहभागीले पुष्पलाललाई नेपालमा वैज्ञानिक समाजवादको आधारशिला राख्ने युगपुरुषका रूपमा स्मरण गरेका थिए । उनिहरुले जीवन दर्शन, त्याग, संघर्ष र दूरदर्शिताबाट अहिलेको पुस्ताले प्रेरणा लिनुपर्ने कुरामा जोड दिइएको थियो ।
बृत्तचित्रका साथै पुष्पलालका बारेमा तयार पारिएका विभिन्न भिडियो रिर्पोटहरु पनि देखाईएको थियो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले बागलुङका सचिव गणेश बहादुर थापाले पुष्पलाल नेपालको राजनीतिक इतिहासको एउटा महत्वपूर्ण अध्याय भएको बताएका थिए । उनले पुष्पलालको कम्युनिष्ट आन्दोलनमा मात्र नभएर प्रजातान्त्रिक आन्दोलनमा पनि ठुलो भुमिका रहेको बताए । कार्यक्रम नेकपा एमाले बागलुङका सचिव उपसचिव धन बहादुर परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।
२००६ मा भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा पुष्पलालले समुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राखेका थिए ।
१९८१ असारमा रामेछापको भङ्गेरीमा जन्मिएका पुष्पलाल वैचारिक रूपले सशक्त र प्रेरणादायी नेताका रूपमा परिचित थिए । उनको निधन २०३५ सालमा भएको थियो ।